![]()
People’s News : कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा सफल हुन गाह्रो हुनसक्ने विज्ञहरूले बताएका छन् । दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु किनमेलका लागि मानिसहरू बिहान बाहिर निस्कने गर्दा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने विज्ञहरूले बताएका हुन् । निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयहरूले पनि एकैपटक भिड नहोस् भनेरै किनबेचका लागि कुनै समय नतोकेको बताएका छन् । बुधवार मध्यरातबाट उपत्यकाका तीन वटै जिल्लामा लकडाउनभन्दा कडा प्रतिबन्धसहित निषेधाज्ञा कार्यान्वयनमा ल्याइएको छ । हाम्रो समाज नै यस्तो छ कि हामी एक मुठा धनियाँ किन्न पनि पसल पुग्नै पर्छ। घरमा भण्डारण गर्ने हाम्रो चलन छैन,” भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले भनिन् । “त्यसकारण किनबेचका लागि समय दिनुभन्दा खाद्यान्न दिनभरि सामाजिक दूरी कायम राखेर किनबेच गर्न दिने र यसमा अनुगमन गरेर कडिकडाउ गरिनुपर्छ । डा. भट्ट सङ्क्रमण व्यापक रूपमा फैलिरहेको अवस्थामा गरिएको निषेधाज्ञा नियन्त्रणमा सहयोगी नै हुने बताउँछिन् । स्वास्थ्यका हिसाबले मात्रै हेर्ने हो भने पछिल्लो सरकारी कदम ठिकै छ। यसको प्रभावकारिता बढाउने विषयमा सोच्न जरुरी छ, उनले भनिन्।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले पनि एकैपटक भिड नहोस् भनेरै अत्यावश्यक सामान किनबेचका लागि समय नतोकेको बताउँछन्।
तर पनि काठमाण्डूका अधिकांश स्थानमा किन बिहान केही समय मात्रै पसल खुला गर्न दिइएको छ त?
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, “हामीले समय तोकेका छैनौँ। समय तोक्दा भिडभाड हुन्छ भन्ने हाम्रो बुझाइ हो। स्थानीय तहहरूको समन्वयमा त्यस्ता गतिविधि नियन्त्रण भइरहेको छ।”
कुनै पनि स्थानका अनुकूलता स्थानीय तहलाई राम्रोसँग थाहा हुने हुँदा उनीहरूले नै पसल खुला गर्ने र बन्द गर्ने जस्ता विषयमा जिम्मा लिइरहेको उनले बताए।