![]()
peoples News : अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए । सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ । चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ। दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ ।
आरोप लागेका मा को हुन् ? : माको जन्म हङ्कङमा भएको थियो। तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन् ।उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए । अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए । मार्च २००१ मा हङ्कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले “सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरू” बारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ । हङ्कङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५०,००० डलर लिएको भिडिओ प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ ।
अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना सङ्कलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ । उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो। उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन । माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन । तर उनी ८५ वर्षका भएको र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ । उनी शाङ्घाईमा जन्मिएका थिए। स्वास्थ्यस्थिति कमजोर भएकाले ती वृद्धलाई पक्राउ गर्न खोजिएको छैन ।