कोरोना सूचक ओरालो: डिस्चार्ज हुने कम , सङ्क्रमित बढ्दै । [ अवस्था भयावह ]

Loading

कोरोना सूचक ओरालो: डिस्चार्ज हुने कम , सङ्क्रमित बढ्दै । [ अवस्था भयावह ]

देशभर कोरोना संक्रमणको अवस्था भयावह हुँदै  जाँदा कोरोना सूचकहरू पनि खराब स्थितिमा  पुग्दै  गएका छन् । पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्यु हुनेको सङ्ख्या बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले  परीक्षण भने बढाउँदै गएको छ ।

१५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो ।
१५ साउनमा तीन हजार ६ सय चार नमुना जाँच गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई सय २७ संक्रमित निको भएर घर फर्किएका थिए भने तीनजनाको मृत्यु भएको थियो ।

तर, अहिले ती सबै सूचक उदो लागेका छन् । मंगलबारसम्म देशभर देखिएका २८ हजार दुई सय ५७ संक्रमितमध्ये १७ हजार पाँच सय ८० निको भएका छन् । यो दर ६२.२ प्रतिशत हो । जुन, १५ साउनको भन्दा ११ प्रतिशतले कम हो ।
त्यस्तै, मंगलबारसम्म मृतकको संख्या एक सय १४ पुगेको छ, यो सङ्क्रमितको  ०.४ प्रतिशत हो । मृत्युदर प्रतिदश लाखमा ३.९ पुगेको छ । जब कि १५ साउनमा यो दर १.८ मात्रै थियो । त्यस्तै, संक्रमण दर ५.२ प्रतिशत पुगेको छ । सक्रिय केसको संख्या १० हजार पाँच सय ६३ अर्थात् ३७.४ प्रतिशत छ ।
मंगलबारसम्म देखिएका १० हजार पाँच सय ६३ सक्रिय संक्रमितमध्ये दुई हजार आठ सय ८७ जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या एक सय २६ पुगेको छ । तीमध्ये आठजना भेन्टिलेटरमा छन् । सोमबारसम्म आइसियूमा उपचाररत संक्रमितको संख्या एक सय एक मात्रै थियो, भेन्टिलेटरमा ६ जना मात्रै थिए ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट सातजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके ,  तनहुँका लगायत जिल्लाका सङ्क्रमित रहेका छन् ।