अस्ताए राष्ट्रकवि घिमिरे ।

Loading

अस्ताए राष्ट्रकवि घिमिरे । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान  भएको छ । राष्ट्र कवि घिमिरेको उनकै निवासमा मंगलबार साँझ ५ः ५५ बजे निधन भएको उनकी बुहारी विजेता घिमिरेले जानकारी दिएकी छिन् ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । राष्ट्र कवि घिमिरे सास फेर्न समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।
नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

स्व। घिमिरेका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्यहरु सिर्जना भएका छन् । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा घिमिरेले कलम चलाएका थिए ।

उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह छन्। ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ देखि ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’ जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए । उनका गीतहरुमा स्वरसम्राट् नारायणगोपालदेखि तारादेवी सम्मले स्वर दिएका छन् ।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए । घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ ।