नक्कली रसिद काटेर राजस्व कुम्ल्याउने भ्रष्टाचारी कर्मचारीलाई फासी दिइनुपर्छ ।

Loading

नक्कली रसिद काटेर राजस्व कुम्ल्याउने भ्रष्टाचारी कर्मचारीलाई फासी दिइनुपर्छ ।

रविन्द्र ढुङ्गेल : नेपालको पर्यटकीय एवं आकर्षक पोखरा महानगरपालिका-१३ ठेगाना भएका विष्णुमाया तिमिल्सिना र बुद्धिसागर तिमिल्सिना गत फागुन १२ गते घर नक्सा पास गर्ने काम बोकेर वडा कार्यालयमा पुगे ।
वडा कार्यालयका कर्मचारी दीपेन्द्रप्रसाद मरासिनीले विष्णुमायाको नाममा ७३२१४ नम्बरको रसिद दिएर ११ हजार ८ सय १५ रुपैयाँ राजश्व दिन आग्रह गरे । बुद्धिसागरसँग ११ हजार ९ सय ८० रुपैयाँ राजश्व लिएर ७३२१५ नम्बरको रसिद बुद्धिसागरलाई थमाइयो ।

हातले लेखेको रसिद दिएर सेवाग्राहीसँग राजश्व लिए पनि मरासिनीले भने महानगरको खातामा त्यो पैसा जम्मा गरेनन्। महानगरले राजश्व संकलन गर्दा सेवाग्राहीलाई कम्प्युटर सफ्टवेयरमार्फत् रसिद दिने चलन रहेको छ । मरासिनीले भने कार्बन पेपरमा हस्तलिखित रसिद थमाए।

तिमिल्सिनाद्वयले महानगरलाई तिर्नु पर्ने कर तिरे अनि फर्किएर घर नक्सासम्बन्धी काम अघि बढाए। उनीहरूको नक्साका फाइल हेरेका प्राविधिकले जब हस्तलिखित रसिद भेटे। त्यसपछि उक्त रसिद प्रमाणित गर्न वडालाई भने। वडामा रहेका राजश्व सेवा केन्द्रका प्रमुख अशोककुरमा सुनारले दुवै हस्तलिखित रसिद दिएर आएको रकम महानगरको राजश्वमा दाखिला नभएको जानकारी पाए। उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई यसबारे जानकारी गराए।

मरासिनीले काटेको रसिद नम्बर अनुसारको राजश्व महानगरको अनलाइनमा हेर्दा एउटाबाट ३ सय र अर्कोबाट ७ सय ७० रुपैयाँमात्र दाखिला भएको देखियो, त्यो पनि वास्तविक सेवाग्राहीको नाममा नभई नक्कली सेवाग्राही खडा गरेर। मरासिनीले तिमिल्सिनाद्वयले तिरेको राजश्व नवीना गुरूङ र गीता भट्टराईको नाममा दाखिला गरेका थिए।