![]()
Peoplesnews :काठमाडौं– पछिल्लो संसद र प्रदेशको निर्वाचनमा पराजय भोगेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी चुनावी रणनीति तय गर्दै साना लोकतान्त्रिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियानमा जुटेको छ।
आगामी, संसद, प्रदेश र स्थानीय निकायको चुनावमा सशक्त रुपमा अघि बढ्न कांग्रेसले मंगलबार राप्रपा परित्याग गरेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापका छोरा सुनिल सहित तीन दर्जनभन्दा बढी केन्द्रीय नेतालाई पार्टी प्रवेश गराएको छ। तीन वर्षअघिको निर्वाचनमा दुई प्रमुख कम्युनिष्ट दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएर निर्वाचन लड्दा कांग्रेस र संघीय संसद र प्रदेशसभामा नराम्रो पराजय भोगेको थियो ।
कांग्रेसले लोकतान्त्रिक विचार मान्ने पार्टी र तीनका नेताहरुलाई अधिकतम पार्टीमा स्थान दिएर भित्राउने आन्तरिक रणनीति तय गरेको छ। त्यसका साथै लोकतन्त्रलाई वलियो बनाउन सबै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने ठहर पनि कांग्रेसको छ।
केपी शर्मा ओली नेतृत्वको सरकार निरन्तर आलोचित बनिरहेको अवस्थामा आगामी निर्वाचनमा पहिलो शक्ति बन्न कांग्रेसले अन्य पार्टीसँगको एकता र अन्य दलका नेता कार्यकर्तालाई भित्र्याउने रणनीति अख्तियार गरेको हो।
कांग्रेसले आगामी चुनावसम्म पछिल्लो चुनावमा पाएको मत ३१ लाख २८ हजार ३ सयबाट १५ लाख मत बढाउने गरी विभिन्न दलका नेताहरुलाई पार्टी प्रवेश गराउने रणनीतिमा छ।
पछिल्लो चुनावमा तत्कालीन नेकपा एमालेले ३१ लाख ८३ हजार ४ सय ९४, नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय १५, तत्कालीन मोआवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेका थिए।