![]()
नयाँ शैक्षिक सत्रको तीन महिना नाघिसक्दा पनि सरकारी अधिकारीहरूले विद्यालय खुल्ने समयको आकलन समेत गर्न नसकेका कारण विद्यार्थीको पूरै सत्र खेर जाने विज्ञहरूको संशय छ ।
People’sNews : Siraha- नेपालमा कक्षा १ देखि १२ सम्म झण्डै ७० लाख विद्यार्थीहरू छन् भने थप ७ देखि ८ लाख पूर्वकक्षामा रहेका छन् । लकडाउनको अवधि लम्बिरहँदा थुप्रै स्थानीय सरकारहले आंशिक रूपमा भए पनि विद्यालय खोल्न दिनुपर्ने सुझाव दिन थालेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्, “अझै पनि छिट्टै विद्यालय चलाउन सकिने अवस्था आएमा सार्वजनिक बिदा कटौती गरेर पूर्ति गर्ने सोचमा छौँ । तर ढिलो हुने अवस्थामा पाठ्यक्रम नै परिवर्तन गर्नेजस्ता विभिन्न विकल्पबारे सोच्नुपर्ने हुन्छ ।
विकल्प कस्ता छन् ? : वर्षमा १,०२५ घण्टा पढाइ हुनुपर्ने गरी अहिलेको पाठ्यक्रम बनाइएको छ । तर सङ्क्रमणको कायम रहँदा अझै विद्यालय खुल्ने समय स्पष्ट छैन । मन्त्रालय र कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा यतिखेर अनलाइनमार्फत् कक्षाहरू सञ्चालन गर्ने, शैक्षिक सत्र लम्ब्याउने, शैक्षिक सत्र नै रद्द गर्ने वा पाठ्यक्रम छोट्याउनेजस्ता विविध विकल्पमा छलफल भइरहेका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाले शैक्षिक सत्र लम्ब्याउने वा रद्द गर्ने कामले कामले विद्यार्थीहरूमाथि ‘अपराध’ हुने ठान्छन् । कोइराला भन्छन्, “संश्लेषित पाठ्यक्रम बनाउँदै विषयवस्तु नपढाएर अब अवधारणा पढाउन सक्यौँ भने हामी अझै पनि विद्यार्थीमाथि न्याय गर्न सक्छौँ । “त्यसले गर्दा सबैखाले क्षमताका विद्यार्थीलाई समेट्न सकिन्छ। यसले विद्यार्थीलाई फरक-फरक ढङ्गबाट अध्ययन गर्दा समेत एउटा मूल्याङ्कन प्रक्रियामा समाहित गर्न सकिन्छ । अनलाइन कक्षालाई विकल्पका रूपमा लैजाने हकमा भने शिक्षा मन्त्रालयका अधिकारीहरू एकमत देखिन्नन् । त्यसले विद्यार्थीमा हुने सिकाइ, उपलब्धि र प्रभावकारिताको मूल्याङ्कन गर्न सहज नहुने उनीहरूको भनाइ छ । प्रवक्ता शर्मा भन्छन्: “अनलाइन कक्षाबाट शैक्षिक सत्रको पूर्ण पूर्ति हुँदैन। त्यो भनेको सहयोगी सामग्री मात्र हो ।
पढाउने तौरतरिका बदल्ने ‘अवसर’ : अहिलेको तौरतरिकाले शैक्षिक सत्र रद्द हुने जोखिम ‘उच्च रहेको’ भन्दै शिक्षाविद् कोइराला भने अनलाइन कक्षालाई सबै विद्यार्थीमा पहुँच छैन भन्दैमा रोक्न नमिल्ने बताउँछन् । “त्यसका लागि बरू ठाउँ-ठाउँमा लाउडस्पिकरहरू सहितका प्रोजेक्टर वा टेलिभिजन राखेर त्यस्तो अभ्यासको सुरुवात गर्न सकिन्छ । छोटो समयमै अब केन्द्रीकृत रूपमा पाठ्यक्रम घटाउने वा छोटो पारेर जान कठिनाइ हुने चुनौती छन् । कोइराला शिक्षकहरू स्वयम्लाई जिम्मेवारी दिँदै मौजुदा पाठ्यक्रममै विद्यार्थीका अनुभव समेटिने गरी पढाउनुपर्ने बताउँछन् । कक्षा ११ र कक्षा १२ को शैक्षिक सत्र सुरु हुने समय बल्ल आउँदै गरेकाले त्यसतर्फ भने अझ केही साता पर्खने सुविधा रहेको बताइन्छ । विश्वविद्यालयका कक्षाहरूमा समेत कक्षा १२ को नतिजाले असर गर्न सक्ने अवस्था छ ।
कसरी सुरुवात गर्ने ? : स्थानीय अवस्था र आवश्यकता हेरेर कतिपय सुरक्षित देखिएका ठाउँमा कक्षाहरू सुरु गरेर हेर्ने अवस्थाबारे यतिखेर सरकारी अधिकारीहरू सोचिरहेको बताउँछन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया भन्छन्: “त्यसको लागि स्वीकृति दिने एकनासको प्रक्रिया बनाउनेबारे हामी छलफल गरिरहेका छौँ । मौजुदा पाठ्यक्रम अनुसार एक वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन अध्ययन अध्यापन हुनुपर्छ । थुप्रै विद्यालयहरू क्वारन्टीन र आइसोलेशन केन्द्र बनाइएकाले विद्यालय खुल्ने भए पनि ती स्थान तयार हुन केही समय लाग्नेछ । प्रवक्ता शर्मा भन्छन्: “अहिलेसम्म हामीले शैक्षिक सत्र सुरुवात नै गर्न सक्छौँ भन्ने गरी सोचिरहेका छौँ । “तर सत्र नै रोकिएला भन्ने जोखिम समेत भएको छ ।
You must be logged in to post a comment.