![]()
Peoples news/upesh Naubag/ktm : संसार कोरोना महाव्याधिको भयबाट अझै आक्रान्त छ । कुनै खोप र औषधी अहिलेसम्म पत्ता नलागेको यो व्याधिबाट बच्न सकिने एउटै उपाय यसको फैलावट रोक्नु हो । अहिले त्यही फैलावट रोक्न संसारका धेरैजसो देशहरूमा लकडाउन जारी छ । नेपालमा पनि झण्डै दुई महिनादेखि पूर्ण लकडाउन छ । विश्वव्याधिको यही त्रासपूर्ण तरंगर लम्बिँदो लकडाउनका कारण मानिसको सिंगो जीवनशैलीमा भने धेरै नै हेराफेरी आइरहेका छन् । सामान्य हिँडडुलदेखि व्यापारसम्म, रोजगारीदेखि सामाजिक जमघटसम्म, अनि सिर्जनशील कामदेखि उत्पादनशील क्षेत्रसम्म कोभिड–प्रकोपले मानिसलाई नयाँ जुक्तिहरू सिकाएको छ ।लकडाउनमा घरभित्र बसेर मात्रै दैनिक जीवनयापन हुन नसक्ने भएपछि मानिसले अनेक विकल्पहरू अँगालिरहेका छन् । नेपालीमा एउटा पुरानो शैलीको उखान छ– ‘खाने मुखलाई जुँगाले छेक्दैन’ । अर्थात् काम गर्ने र सिर्जनशील हुनेहरूलाई संकटको समयले पनि बाधा पुर्याउन सक्दैन ।
मानिसहरू यतिखेर नवीनतम सोंचले आफ्ना दैनिकी क्रियाकलापदेखि व्यवसायहरूसमेत हाँक्न थालेका छन् । १० चैतमा लकडाउन घोषणा भएको सुन्ने बित्तिक्कै जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष शनिस लागेजु छटपटिन थालिहाले । जुनबेला उनले उत्पादन गरेको च्याउलगायतका अन्य तरकारी भर्खरै बेच्ने बेला भएको थियो । भोलिपल्टबाट लकडाउन हुने थाहा पाएपछि उनी फार्ममा गएर च्याउ टिप्न थाले । ७ सय ४० केजी च्याउ भएछ । बजार ठप्प छ । कहाँ लगेर बेच्ने ? उत्तिकै फालौं भने मिहिनेत र लगानी परेको खेती माया लाग्ने नै भयो । कसरी फाल्नू ? तनाव हुन थाल्यो । उनले केही तरकारी व्यवसायीलाई फोन गरे । तर उनीहरू लकडाउनको बेला तरकारी लिन नआउने भएपछि उनी अझै चिन्तित बने । दिमागमा एउटा आइडिया आयो–यसै कुहाउनुभन्दा आफन्त र साथीहरूकहाँ पुर्याइदिउँm । त्यसपछि उनले राति नै सबै च्याउ प्याकिङ गरे । कतिपय साथीलाई फोन गरे । भोलिपल्ट मोटरसाइकलमा राखेर साथीभाइ, आफन्तको गेटमा च्याउ राख्दै हिँड्न थाले । बिहानै गेट, ढोकामै च्याउ झुण्डिएको देख्दा कति त सशंकित पनि भएछन् ।
मैले सबैलाई फोन गरेको थिइनँ, फोन गरेकाले बुझिहाल्नुभयो,’ लागेजु भन्छन्, ‘थाहा नभएका साथी र आफन्तचाहिँ कसले च्याउ राखिदियो भनेर डराउनु भएछ ।’ च्याउ बाँडेर आएपछि ७ सय ४० किलो च्याउको यसरी व्यवस्थापन गरियो भनेर उनले फेसबुकमा स्टाटस राखे । त्यसपछिमात्र सम्पर्क नगरेका साथीभाइ, आफन्तले थाहा पाएको उनी बताउँछन् । पछि उनले जसजसको घरमा च्याउ छोडेका थिए उनीहरूले च्याउको पैसा पनि दिए । त्यसपछि उनलाई यसरी पनि तरकारी बिक्री गर्न सकिँदो रहेछ भन्ने लाग्यो । लागेजु आफ्नो ७ सय ४० के.जी च्याउ व्यवस्थापन भयो भन्नेमा ढुक्क थिएनन् । जुनबेला भक्तपुरका फाँटमा उत्पादन भएका तरकारी बग्रेल्ती थिए । लकडाउनका कारण ती तरकारीले तत्काल बजार पाउने सम्भावना थिएन । ‘अब यो तरकारी कुहिएको कसरी हेरुँ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘ती तरकारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापासँग सल्लाह गरेर आफ्नो विचार सुनाएँ ।’ थापाले उनको विचारलाई सकारात्मक रूपमा लिएर नगरपालिकाको बैठकमा तरकारी व्यवस्थापनबारे निर्णय गरे ।
त्यसपछि लागेजुले जिल्ला कृषि सहकारी संघ भक्तपुरका सञ्चालक समितिसदस्यहरू, लेखा समिति र च्याउ उत्पादक किसान संघका केन्द्रीय संयोजक प्रेमनारायण अधिकारीसँग पनि सल्लाह गरे । किसानहरूको तरकारी उठाउनेर टोलटोलमा लगेर बिक्री गर्न उनीहरू पनि सहमत भए । जिल्ला कृषि सहकारी संघको व्यवस्थापन र सूर्यविनायक नगरपालिकाको समन्वयमा ‘स्थानीय उत्पादन, स्थानीय उपभोग टोलटोलमा तरकारी सेवा’ भन्ने नाराका साथ चैत १४ गतेबाट किसानका तरकारी टोलटोलमा पुर्याउन थाले । अहिले उनीहरूले भक्तपुरका सबै स्थानीय तह, काठमाडौंको म्हैपी, काँडाघारी, पेप्सीकोला, ललितपुरको सानेपालगायतका स्थानका टोलटोलमा तरकारी बिक्री गरिरहेको लागेजु बताउँछन् । यतिबेला उनीहरूले दैनिक ५० हजार रूपैयाँभन्दा बढीको तरकारी बिक्री गर्छन् । यो अवधिमा करिव ३० लाख रूपैयाँ बराबरको तरकारी उनीहरूले बिक्री गरिसकेका छन् । बजारमूल्यभन्दा सस्तोमा तरकारी उपभोक्तालाई दिइरहेको उनीहरूको दाबी छ । टोलटोलमा तरकारी पुर्याउने अभियानमा ९ जना स्वयंसेवक खटिएका छन् भने ५ जना कर्मचारी छन् । पसिना चुहाएर उत्पादन गरिएको तरकारी खेतबारीमै कुहिनबाट जोगाएकोमा किसानहरू खुशी छन् । ‘हाम्रो यो कामले किसानलाई राहत पुगेको छ,’ लागेजु भन्छन्, ‘उपभोक्ताले पनि ताजा र सस्तो मूल्यमा तरकारी खान पाउनुभएको छ ।
You must be logged in to post a comment.