असम्भव तथा असफल अनलाईन कक्षा : रामबाबु सिंह

Loading

peoples News/रामबाबु सिंह प्रदेश २ – सम्भव छ अनलाइन कक्षा  ? : नेपालमा विश्वविद्यालयले अनलाइन कक्षाबाट पठन–पाठन थालेपछि केही निजी विद्यालयले पठन–पाठन सञ्चालन गरे । तर, आफ्ना बालबालिकालाई अनलाइनमार्फत पढाउन निकै समस्या भएको अभिभावकले गुनासो गरे । वरिष्ठ बालमनोविद् डा. करुणा कुँवर आफ्नै ८ वर्षीय छोरालाई अनलाइन कक्षामा योगा, डान्स कसरी सिक्ने भन्नेबारे बुझाउन मुस्किल परेको बताउँछिन् । ‘छोरालाई यसमा रुचि थिएन, उसले यस्तो कक्षा स्कुलमै गर्दा पो रमाइलो हुन्छ त भनेर प्रश्न गर्‍यो,’ उनी भन्छिन् । इन्टरनेटको पहुँच नभएको परिवारमा अनलाइन कक्षाको कुरा आएपछि अभिभावकमा चिन्ता थपिएको छ । पोखरा महानगरपालिकाले विद्यालयले सञ्चालन गरिररहेको अनलाइन कक्षा विज्ञप्तिमार्फत बन्द गर्न निर्देशन दिएको थियो । अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरूमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको र यसले थप विकृति एवं अभिभावकमा दबाब सिर्जना गर्ने भन्दै कक्षा बन्द गर्न निजी विद्यालयहरूलाई महानगरले निर्देशन दिएको थियो ।

शिक्षाविद् माथेमा अहिले अनलाइन कक्षा बालबालिकाका लागि खासै उपयुक्त नभएको बताउँछन् । ‘राम्रो शिक्षकलाई पनि अनलाइन कक्षा अहिले चुनौती छ । विद्यार्थीहरूलाई असाध्यै सहयोग चाहिन्छ । कति आँखा नदेख्ने वा कान कम सुन्ने खालको हुन्छन्,’ माथेमा भन्छन्, ‘अर्को कुरा त विद्यार्थीहरू सेल्फ डिसिप्लिनमा बस्नुपर्छ । यो कम्ता गाह्रो हुँदैन । दूरसञ्चार प्राधिकरणसँग ७२ प्रतिशतसँग इन्टरनेट पुगेको तथ्यांक छ । तर, तारजडित र ताररहित इन्टरनेट १७ प्रतिशतको पहुँचमा मात्र छ । डाटा प्रयोग गरेर ‘कनेक्ट’ गर्ने ठाउँमा पनि ‘हाइस्पिड’ चाहिन्छ । नेपालमा फोर जी सेवा निकै कम ठाउँमा मात्र पुगेको छ । दक्षिण एसियामै सबैभन्दा महँगो इन्टरनेट डाटा नेपालमा छ । त्यसकारण मध्यमवर्गीय र निम्न आय भएको परिवारलाई डिजिटल पहुँचमा इन्टरनेटको समस्या देखिन्छ । 

अनलाइनको पहुँच भए पनि पठन–पाठन प्रभावकारी नहुने अन्तर्राष्ट्रिय रिपोर्टले बताउँछन् । अनलाइन एवं रिमोट लर्निङ गरेर स्कुल फर्केपछि विद्यार्थीहरू कमजोर नै हुने विभिन्न अध्ययनले देखाएका छन् । अभिभावकहरूको गाइडेन्स विना यसको उपलब्धि त्यति राम्रो हुँदैन । परिवारमा पनि कोही पढेको छ भने कोही नपढेका छन् । उनीहरूको बालबालिकाको प्रस्तुति पनि फरक हुन्छ । त्यहाँ परिवारको गाइडेन्स चाहिन्छ,’ शिक्षाविद् माथेमा भन्छन् । माथेमाका अनुसार यदि यो अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्नु छ भने धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्ये विद्यार्थीको तथ्यांक संकलन अहिलेको आवश्यकता रहेको उनको ठम्याइ छ । ‘सरकारले सबैभन्दा पहिला स्कुलका विद्यार्थीहरूको वृत्तान्त संकलन गर्न लगाउनुपर्‍यो ।

विद्यार्थीहरू कस्ता छन् ? कोसँग घरमा इन्टरनेटको सुविधा छ ? कोसँग इन्टरनेट सुविधा छैन तर मोबाइल छ ? र, कोसँग यी दुवै छैन ? यस्तै खालका तथ्यांक संकलन अहिले आवश्यक छ,’ माथेमा भन्छन् । अनलाइन कक्षा सञ्चालन गर्नु राम्रो सुरुवात भए पनि नकारात्मक टिकाटिप्पणी भएकोमा प्याबसन अध्यक्ष पुरी चिन्ता व्यक्त गर्छन् । ‘यसलाई हामीले अनिवार्य गर्ने भनेको पनि होइन । ट्रायल गरौं, राम्रो सुरुवातले भोलिको दिनमा सहज हुन्छ भन्ने हिसाबले गरेका हौं, तर निजी विद्यालयलाई बदनाम गराउने काम भयो,’ अध्यक्ष पुरी भन्छन् । 

घरमै बसेर कसरी पढाउने  ? : यतिबेला घरमै बसेर कसरी पढाउने भन्नेबारे विभिन्न विकल्प र खोजी भइरहेका छन् । विज्ञहरूले विभिन्न सुझाव सरकार र स्थानीय तहलाई दिइरहेका छन् । केही विद्यालयले अनलाइन कक्षाबाट पठन–पाठन सुचारु गरे पनि प्रभावकारी देखिएन । शिक्षा मन्त्रालयका प्रवक्ता शर्मा स्थानीय तहहरूले आफ्नो स्रोत र साधन अनुसारको विकल्प प्रयोग गर्न सक्ने बताउँछन् । ‘स्थानीय सरकारले कतै अनलाइनबाट र कतै टेलिभिजनको प्रयोगमार्फत पठन–पाठन सञ्चालन गर्न सक्छ । स्थानीय एफएम र टेलिभजनहरूले शैक्षिक बहस सञ्चालन गर्न सक्छन्,’ प्रवक्ता शर्मा भन्छन् । शिक्षाविद् कोइराला स्थानीय तह चनाखो भएर लाग्नुपर्नेमा तर्क गर्छन् । शिक्षक महासंघ, प्याबसन, एनप्याबसनसँग स्थानीय तहले सल्लाह गर्नेदेखि शिक्षकलाई प्रोत्साहन गर्ने काममा स्थानीय सरकार सक्रिय हुनुपर्ने उनी बताउँछन् ।

विद्यार्थीहरूलाई घर–घरमा कसरी पढाउन सकिन्छ भन्ने कुरा सोच्नुपर्‍यो । क–कसको घरमा को–को जाने, के–के सामग्री पठाउने भन्ने कुरा निक्र्योल गर्नुपर्‍यो,’ कोइराला भन्छन्, ‘शिक्षक प्राध्यापकलाई के–के सामग्री बनाउन सकिन्छ त्यसमा सहयोग पालिकाले गर्नुपर्‍यो ।विद्यार्थीलाई घर–घरमा पठाउन पेनड्राइभ, सिडी, कम्प्युटर एप्स, नोटप्याडलगायत सम्भव हुने कुराको तयारीमा पनि स्थानीय सरकार सक्रिय हुन उनको आग्रह छ । ‘शिक्षकहरूलाई गाइडलाइन दिएर उनीहरूलाई कहाँ पायक पर्छ त्यहाँ पठायो भने उनीहरू आफैंले गर्न सक्छन् । ५/६ महिना स्कुल नखुले पनि फरक पर्दैन,’ कोइराला भन्छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा विद्यार्थीलाई घरमै बसेर पढाउन सकिने कुरामा आफूहरू सक्रिय भएको बताउँछन् । ‘हामीले घरमै बसेर पनि के–के सिकाइ हुनसक्छ भनेर शिक्षा विकास तथा मानव स्रोतलाई पनि सुल्झाएका छौं । सिकाइका लागि एउटा एप्स बनाउने अभियानमा लागेका छौं । जेठको पहिलो हप्ताबाट त्यो सार्वजनिक हुन्छ ।’ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइमा समस्या हुन नदिन अन्य विकल्पसमेत छलफल गरिरहेको उनी बताउँछन् ।