![]()
Peoples News : भूषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो । सन् २००८ ताका निर्माण भएका ती चलचित्रमा प्रयोग भएको डिजिटल प्रविधिले नेपाली सिनेमा उद्योग थप व्यावसायिक र व्यवस्थित भएको चलचित्रकर्मीहरूको ठहर छ । डिजिटल प्रविधिको प्रयोगले सिनेमाको संख्यासँगै गुणस्तर पनि बढेको बताउँछन्, निर्देशक अशोक शर्मा । भन्छन्, ‘डिजिटल उपकरण आउनुअघि यहाँ वार्षिक २५र२६ वटामात्र सिनेमा बन्थे । तर, अहिले सयभन्दा धेरै बन्न थालेका छन् । २५ वर्षको अन्तरमा सिनेमा निर्माणको प्राविधिक पाटोमा आकाश जमिनको फरक आएको निर्देशक दीपेन्द्र के खनालको अनुभव छ । ‘सिनेमामा संकटकाल लगाउन ठिक्क भएका बेला डिजिटल प्रविधिको प्रयोगले फिल्मको स्तरसँगै आशा पनि बढाइदियो’ दीपेन्द्रले भने । नेपाली सिनेमा निर्माणको सुरुवातदेखि डिजिटल यात्रा सुरु हुनुसम्मको अवधि निकै चुनौतीपूर्ण र कष्टकर थियो । डिजिटल प्रविधि सुरु हुनुअघि र पछिको समयलाई गहिरो अनुभव गरेका सिनेमाटोग्राफर दीपक बज्राचार्य भन्छन्, ‘पुरानो प्रविधिमा निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरको भर पर्नुपथ्र्यो, तर अहिले त्यस्तो छैन ।

पुरानो प्रविधिमा सिनेमा : पुरानो प्रविधिमा सेल्युलोइड क्यामेरामार्फत नेगेटिभमा सिनेमा खिचिन्थे । सिनेमाटोग्राफर बज्राचार्यका अनुसार नेगेटिभमा खिचिएका फिल्मलाई सुरुमा एक्सपोज गर्नुपथ्र्यो । पछि डेभलप गरेर प्रिन्ट निकालिन्थ्यो । पहिलो पटक वर्क प्रिन्ट निस्कन्थ्यो । त्यसैको आधारमा सम्पादन गरिन्थ्यो । त्यसपछि मात्र थिएटरमा हेर्न लायकको फाइनल प्रिन्ट निकालिन्थ्यो । त्यो बेला फिल्म नबनेसम्म खिचेको सही आयो कि आएन भनेर थाहा हुँदैनथ्यो । ‘यहाँ भिडियो असिस्ट भएको मोनिटरमा हेर्न मिल्ने क्यामेरा थिएन । त्यहीँ भएर निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरमा भर पर्नुपर्ने हुन्थ्यो’ । सुरुमा ३५ एमएममा भिडियो खिचिन्थ्यो । पछि निर्देशकहरूले १६ एमएममा खिच्न थाले । आधा साइज हुने बित्तिकै बजेट पनि आधा घट्ने निर्माताहरूको अनुमान थियो । तर, यसले फिल्मको दृश्य झन् बिग्रिएर आउन थाल्यो । फिल्म निर्माण मात्र नभई प्रदर्शनमा पनि उत्तिकै कठिनाइ हुन्थ्यो । सबै हलमा एउटै फिल्म एकैपटक प्रदर्शन गर्न मिल्दैनथ्यो । निर्देशक शर्माका अनुसार फिल्मको प्रिन्ट बनाउनकै लागि १० र १२ लाख रुपैयाँ खर्च हुन्थ्यो । त्यतिबेला २ र ३ देखि बढीमा ५ सम्म सिनेमाको रिल प्रिन्ट बनाइन्थ्यो । त्यही रिललाई क्यारिङ गर्नुपथ्र्यो । काठमाडौंमा २ वटा रिल राखिन्थ्यो भने बाहिर २ वटा पठाइन्थ्यो । ‘एकैचोटि चलचित्र प्रदर्शन गर्न नपाउँदा समयमा लगानी उठ्दैनथ्यो’, शर्मा भन्छन्, ‘त्यतिबेला रिलबाट चक्का घुमाएर फिल्म देखाउने चलन थियो । रिल चुँडिने, कोरिने पनि समस्या हुन्थ्यो । हामी आफैं कम गुणस्तरमा फिल्म बनाइरहेका थियौं ।’ त्यतिबेला सिनेमाको ध्वनि पनि कर्णप्रिय र आकर्षक हुँदैनथ्यो । किनभने आवाज टेपमा रेकर्ड गरेर प्ले गरिन्थ्यो । 
क्यामेराले ल्याएको परिवर्तन : सन् २००८ सालतिर निर्देशक दीपेन्द्र के खनालले जापानबाट नेपाल आउँदा एचडी क्यामेरा ल्याएका थिए । त्यतिबेलासम्म नेपालमा फिल्म सेल्युलोइडमै बनाइन्थे । जब उनले पहिलो फिल्म डिजिटल एचडीमा बनाए, तब ठूलो चुनौतीको पनि सामना गर्नुपर्यो । उनीसँगै त्यस छिमलका नयाँ निर्देशकहरू डिजिटल प्रविधिकै कारण बहिष्कारमा परे । ‘मैले एचडी क्यामेराले खिचेको फिल्मलाई सानो फिल्म भनियो । सिनेमा बिगार्ने प्रविधि ल्यायो भनियो,’ उनले सम्झिए । नेपाली सिनेमाहरू लगातार घाटामा जान थालेपछि निर्देशक अशोक शर्मा पनि उपायको खोजीमा थिए । ‘विदेशी सिनेमाको अघि हाम्रो सिनेमाको अस्तित्व नै नरहने भयो । प्रविधिलाई परिवर्तन नगरिकन विकल्प छैन भन्ने भयो । त्यसपछि हामीले सन् २००८ तिर डिजिटल टेक्नोलोजीलाई भित्र्यायौं । तर, अन्य चलचित्रकर्मीहरूले स्वीकार गरेनन्,’ शर्मा सम्झन्छन् । त्यतिबेला सेल्युलोइडलाई डिजिटलले विस्थापित गर्न सक्दैन भन्ने आवाज पनि उठ्यो । प्रविधिका विषयमा ठूलै बहस भयो । निर्देशक खनालले उक्त बहसलाई नयाँ र पुरानो पुस्ताको द्वन्द्वका रूपमा लिए । ‘पुराना मेकर सेल्युलोइडमै फिल्म बनाउँथे । हामी डिजिटल प्रविधिको प्रयोग गर्न थाल्यौं’ उनी भन्छन्, ‘आपसी ईगोका कारण पनि द्वन्द्व बढेको थियो । रिलमा खिच्दा जुन डेप्थ आउँछ त्यो डिजिटलमा आउँदैन भन्ने सेल्युलोइडमा काम गरिरहेका धेरैको मान्यता थियो । ‘यसमा केही सत्यता पनि थियो । किनभने, त्यो बेला डिजिटल प्रविधि पनि निर्माणकै क्रममा थियो,’ उनी भन्छन् । 
प्रविधिलाई डिजिटल बनाउनका लागि क्युएफएक्स सञ्चालक तथा फिल्म निर्माता नकिम उद्दिन, भाष्कर ढुंगाना, राजेश सिद्धीलगायतको भूमिका थियो । ‘फिल्म खिच्नदेखि हललाई समेत डिजिटलाइज्ड गर्न हामीले ठूलो मेहनत गरेका छौं । क्युएफएक्सको पहिलो मल्टिप्लेक्स पनि हामीले नै सञ्चालन गरेका हौं,’ सञ्चालक नकिम उद्दिन भन्छन् । रिलबाट हलमा फिल्म देखाइने झन्झटिलो प्रक्रियालाई नै उनीहरूले परिवर्तन गर्न खोजे । यसका लागि हलमा डिजिटल सिस्टम राखियो । निर्देशक शर्मामा अनुसार २ र ४ वटा हलमा सम्झाई बुझाई गरेर आधुनिक सिस्टम राखिएको थियो । तर, डिजिटल सिस्टममा देखाउने फिल्म नहुनाले झन् चुनौती थपियो । ‘सेल्युलोइडमा फिल्म बन्थ्यो । त्यसलाई डिजिटलमा कन्भर्ट गर्न कोही नमान्ने । अब प्रोडक्सननै डिजिटलमा गरेपछि मात्र डिजिटलमै बन्ने र डिजिटलमै देखाउने काम हुनसक्छ भनेर हामीले विदेशबाट क्यामेरालगायत उपकरण ल्यायौं,’ शर्मा भन्छन् । त्यसिबेलै डिसिएन कम्पनीमार्फत नेपालमा एसआई टुके नामक डिजिटल क्यामेरा भित्रिएको हो ।
डिजिटल क्यामेरामार्फत काम गर्न नचाहेका प्रोडुसरहरूलाई बुझाउनु कम्ता मुस्किल थिएन । ‘डिजिटलमा फिल्म बनाउनेलाई फिल्मको वितरण हामी गर्छौं र पैसा पनि दिन्छौं भनेर एउटा प्रोडुसरलाई ४० लाख एड्भान्स पनि दियौं । अनि बल्ल केही निर्माता तयार हुनुभयो,’ शर्मा सम्झन्छन् । त्यसलगत्तै बनेका दुई फिल्म ‘कागबेनी’ र ‘सानो संसार’ले नेपाली सिनेमाको प्राविधिक पाटोको गुणस्तरमा धेरै सुधार ल्याए । त्यसपछि भने नयाँ प्रविधिप्रति अन्य प्रोडुसरको पनि ध्यान खिचियो । ‘लुट’, ‘चपली हाइट’जस्ता चलचित्र व्यावसायिक रूपमा सफल भइसकेपछि डिजिटल प्रविधिको प्रभाव बढ्दै गयो । संकटकाल लाग्नै आँटेको बेला डिजिटल प्रविधिमा बनेको फिल्मले उद्योगलाई चलायमान बनायो । ‘चारपाटे र किरमिर भिडियो हेरिरहेका दर्शकलाई सफा स्क्रिन देख्दा छुट्टै आनन्द आयो,’ दीपेन्द्र भन्छन् । त्यसलगत्तै नेपालमा रेडको ‘फो के’ क्यामेरा भित्रियो । त्यसपछि ‘सिक्स के’ आयो । पछिल्लो समय दीपेन्द्रले ‘आमा’ फिल्मको निर्माणमा एट–के क्यामेराको प्रयोग गरे । ‘अहिलेसम्म आउँदा नेपाली चलचित्र क्षेत्रमा क्यामेरा मात्र नभई लेन्स वा अरू धेरै राम्रा उपकरण हामीसँग छन् । मैसँग हलिउड बलिउडमा खिच्ने क्यामेराको हाइयन सेट छ,।
डिजिटल प्रविधिका कारण सिनेमा हलमा पनि निर्माताको लगानी कम हुँदै गयो । ‘१० र १२ लाख रुपैयाँ रिल प्रिन्टमै खर्च हुन्थ्यो । डिजिटल प्रविधिमा त प्रिन्ट खर्चै भएन । धेरै हलमा एकै पटक फिल्म चलाउन पनि सकिने अवस्था आयो,’ शर्मा भन्छन्, ‘रिलको कारण फिल्मको व्यापारलाई पनि असर गरेको थियो । अहिले २२ करोडसम्म फिल्मको व्यापार हुन्छ । सिनेमाटोग्राफर बज्राचार्यका अनुसार सेल्युलाइड फम्र्याटमा खिचेको अन्तिम नेपाली चलचित्र ‘गुडबाइ काठमाडौं’ हो । अहिले विश्वमा नै सिनेमा मेकिङ डिजिटल प्रविधिबाट हुन्छ । तर, हलिउड, बलिउडमा केही निर्देशकले भने अझै नेगेटिभमा खिच्ने गरेको पाइन्छ ।

You must be logged in to post a comment.