![]()
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस कोभिड-१९ को परीक्षण गर्न दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म जाने गरेका छन् । पहिलाको तुलनामा यो परीक्षण गर्ने क्रम बढ्दो छ । अस्पतालले भने आवश्यक भए/नभएको हेरेर मात्रै परीक्षण गर्ने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक शैय्या पनि बढाइरहेको जनाइएको छ । त्यस्तै दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले बताए । बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उनका अनुसार अहिले काठमाडौं उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उनले भने ‘निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ । कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । उनले भने ‘कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।