चिडियाखानामा सबैको अगाडी बाघले मारे मान्छे

Loading

Peoples news : kathmandu : स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ । ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए । तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो । ज्यूरिकको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए । 

अनुसन्धान हुने : ज्यूरिक चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ । तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन् । “मद्दत ढिलो पुग्यो र दु:खद निधन भयो,” ज्यूरिक प्रहरीकी प्रवक्ताले बताइन् । इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो ।

घटनाका साक्षीलाई मनोपरामर्श : ज्यूरिक चिडियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन्। उनले ती कर्मचारीको परिवारप्रति समवेदना प्रकट गरे । उक्त घटनाका साक्षीहरूलाई मनोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ । चिडियाघर तथा संरक्षण केन्द्रहरूमा जनावरले आक्रमण गर्नु दुर्लभ मानिन्छ । तर ज्यूरिक चिडियाघरमा भएको यो पहिलो आक्रमण भने होइन । सन् २०१९ को डिसेम्बरमा चिडियाघरस्थित एक गोहीले सफाइ गरिरहेका कर्मचारीको हात टोकिदिएको थियो । गोहीले हात नछाडेपछि त्यसलाई गोली हानिएको थियो ।