![]()
pnews.com.np : Kathmandu: भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ ।परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो । भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन् । क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ । खोपको क्लीनीकल परीक्षणका लागि भारतका १२ संस्थालाई चुनिएको छ । आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ मा ती १२ संस्थालाई आगामी जुलाई ७ सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन् । पत्रमा उनले लेखेका छन्, “कोरोनाभाइरस रोक्नका लागि आईसीएमआरले विकास गरेको खोपको परीक्षण तीव्र गतिमा अघि बढाउनका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ । “कोरोनाभाइरसको एउटा स्ट्रेन निकालेर यो खोप विकास गरिएको हो । “क्लीनीकल परीक्षण पछि आईसीएमआर यो खोप अगस्ट १५ सम्ममा सर्वसाधारणसम्म पुर्याउन चाहन्छ । “भारत बायोटेक पनि युद्धस्तरमा काम गरिरहेको छ। तर यो खोपको सफलता क्लीनीकल परीक्षणका लागि चुनिएका संस्थाहरूको सहयोगमा निर्भर गर्छ । बायोटेक कम्पनी मार्फत विकास गर्न लागिएको खोपको नाम कोभ्याक्सीन हो । भारत बायोटेकले ट्विटरबाट जुन २९ तारिखमा यो खोपको मानव शरीरमा गरिने परीक्षणबारे जानकारी गराएको थियो ।
के भन्छन् विशेषज्ञ ? महाराष्ट्र सरकारले बनाएको कोरोना टास्क फोर्सका सदस्य डा. शंशाक जोशी भन्छन्, “यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ । “सामान्यतया एउटा खोप बनाउन दुई वर्ष लाग्छ। निकै छिटो काम गरिए पनि कम्तीमा १२ देखि १८ महिना लाग्छ। त्यसभन्दा अघि नै खोप बनाउने कुरा असम्भव छ । उनले थपे: “मानव शरीरमा परीक्षणका बेला हामीले केही महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गर्न मिल्दैन । स्वास्थ्य विशेषज्ञ र इन्टर्न्याश्नल एसोसिएशन अफ बायोएथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आईसीएमआरको योजनाले छक्क परेका छन् । उनी भन्छन्, “खोपलाई क्लीनीकल परीक्षणका लागि जुलाई ७ सम्ममा दर्ता गरिसक्न भनिएको छ । हालसम्म यसले प्री-क्लीनीकल परीक्षणको अवस्था नै पूरा गरेको छैन भने कसरी अगस्ट १५ मा यसलाई सार्वजनिक गर्न सकिन्छ ? “के एक महिनाभन्दा कममा यो खोपसँग सम्बन्धित जोडिएका परीक्षण पूरा गर्न सकिन्छ ? “के यो खोपको गुणस्तर बारे पहिलेदेखि नै धारण बनाई सकिएको छ ?