नेपालमा कोरोना र भ्रष्टाचारलाई नियन्त्रण गर्न कठिन

Loading

Peoples News : प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि उचित कदम चाल्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गरेकाले नागरिकहरू सडकमा उत्रिएका छन्,’ उनले भने, ‘नेपाल एयरलाइन्स चार्टर्ड गर्ने भनेर ६–७ गुणा बढी पैसा पीडितबाट असुल्नेजस्ता काम भएका छन् । सरकारका यस्ता क्रियाकलापले गर्दा नागरिकलाई सडकमा निस्केर प्रदर्शन गर्न बाध्य बनाएको उनले बताए । नागरिकहरू सडकमा उत्रेर सरकार फाल्नुपर्ने अवस्था आयो भने त्यो लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने उनको भनाइ थियो ।‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टर्डको नाउँमा यहाँका ट्राभल एजेन्सीहरूबाट ६-७ गुणाभन्दा बढी पैसा असुली भइराखेको छ । जनताले सहिरहनुपर्ने फेरि हामी चुप लाग्नुपर्ने ?’ उनले भने, ‘अत्यन्त भयावह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नुपऱ्यो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत हुँदैन, स्थिति यो आइसकेको छ । सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मातृकाप्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको, तर राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको बताए । अपराधिक घटनाहरू हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए । यादवले २ नम्बर प्रदेशमा कोरोना नियन्त्रण ठूलो चुनौती बन्दै गएको बताए । उनले कडा भाइरस आएको भन्ने प्रधानमन्त्रीसँग कडा खालको उपचारको व्यवस्था मिलाइदिन पनि माग गरे । प्रदेश २ सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको उनले बताए ।