दर्ता, फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन : Rambabu Singh-Siraha

Loading

काठमाडौं : राष्ट्रिय अखण्डता र सार्वभौकिता विरोधी अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन् । यसअघि सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ । उक्त विधेयकमा संशोधन दर्ता गराउँदै सांसद गिरीले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् । गिरीको टिप्पणीको चौतर्फी आलोचना हुँदै आएको छ । यसैबीच समाजवादी पार्टीले सांसद गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।