फर्काउने निहुमा चर्को हवाइ भाडा

Loading

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारी गुमाई विदेशी भूमिमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन चर्को हवाई भाडा असुल्न थालिएपछि कामदार, गैरआवासीय नेपाली तथा सरोकारवालाहरुले चर्को विरोध गरेका छन् । कोरोना कहरका कारण बाध्यतावश स्वदेश फर्किन थालेका कामदारहरुसँग चार्टर फ्लाइटको नाममा सामान्य अवस्थाको तुलनामा चार दोब्बरबढी भाडा असुल्न थालिएको भन्दै उनीहरुले त्यसमा छानविनको समेत माग गरेका छन् । नेपालबाट उडान हुने चार्टर फ्लाइटमा भएको भनिएको यस्तै महँगो भाडाकाबारेमा छानविन शुरु गरेको सरकारले विदेशबाट आउने फ्लाइटको अस्वभाविक भाडाबारे केही गरेको छैन । सरकारले आगामी आइतबारदेखि असार १४ गतेसम्ममा विदेशमा समस्यामा परेका करिब २५ हजार नेपाललीलाई उद्धार गरेर नेपाल ल्याउने निर्णय गरेको छ । विदेशस्थित नेपाली राजदूतहरुले चार्टर फ्लाइटले कामदारहरुलाई मर्कामा पार्ने भन्दै व्यवसायिक उडान शुरु गर्न आग्रह गरिरहेका छन् । व्यवसायिक उडान शुरु नहुँदा एक तर्फी चार्टर फ्लाइटका लागि १४ देखि १५ हजार रुपैयाँसम्म पर्ने मलेसियामा ६३ हजार ८ रुयैयाँ ४ पैसा तोकिएको सार्वजनिक भएको हो । सामान्य अवस्थामा एकतर्फी भाडा बढीमा २५ हजार रुपैयाँ पर्ने बहराइनको भाडा ६६ हजार ३७ रुपैयाँ ६५ पैसा तोकिएको सार्वजनिक भएको छ । 

मलेसियाबाट  जुन १५, १८, २० र २१  तारिकमा चारवटा चार्टर उडानले अनुमति पाएका छन् । नेपाली दूतावासले ती उडानका लागि १ हजार ५ जनाको नाम सार्वजनिक गरेको छ । लिष्टमा रहेका व्यक्तिहरुले सम्पर्क नगरे अन्यलाई मौका दिने भन्दै दूतावासले टिकट बुकिङ गर्न आग्रह गरेको छ । स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका बीर थापा टिकट महँगो भएको गुनासो गर्दै भन्छन्, ‘४ महिनादेखि कम्पनीले काम पनि दिएको छैन । त्यसैमा तलब पनि दिँदैन अनि यति महँगो टिकट कसरी किन्ने ? यो समस्यामा परेकालाई उद्धार गरेको भन्दा पनि लुट्न खोजेको हो ? गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले उद्धारको नाममा विपतमा परेका कामदारहरुमाथि पीडा थप्न खोजेको भन्दै निर्धारण गरिएको भाडा नेपाली कामदारहरुको क्षमताबाहिर रहेको बताएका छन् । अध्यक्ष भट्टराइले रोजगारी गुमाएर खाने, बस्ने समस्यामा परेकाहरु विभिन्न संघसस्थाले  दिएको राहतमा गुजारा चलाइरहेको अवस्थामा घर फर्किन लाखौं रुपैयाँ तिराउने अवस्था नरहेको भन्दै  एकपक्षीयरुपमा तोकिएको हवाई भाडामा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

चर्को हवाई भाडामात्र विदेशबाट नेपाल आउने कामदारहरुले धेरै आर्थिक दायित्व वहन गर्नुपर्ने अवस्था छ । उड्नु अघि अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षण पनि कामदार आफैंले गर्नुपर्छ । स्वास्थ्य परीक्षण रकम देश अनुसार फरक छ । मलेसियामा पीसीआर टेष्टको १५ हजार रुपैयाँसम्म लाग्ने बताइएको छ । नेपालमा आएपछि क्वारेन्टिनका लागि होटलमा बस्दा आफैंले खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि आफ्नो स्थायी ठेनामा पुग्दाको खर्च पनि कामदार आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै एनआरएनए बहराइनका अध्यक्ष लक्ष्मी गिरीले सरकारले तोकेको हवाई भाडाले  समस्यामा परेका कामदारहरुको पीडामा थप पीडा दिएको बताएकी छन् । भाडामा पुनर्विचार गर्न र त्यसो हुन नसके केही समयका लागि व्यवसायिक उडान खुला गर्न  गिरीले सरकारलाई अनुरोध समेत गरेकी छिन् ।