![]()
Abbulaish Ansari / Birgunj : भारतले आफनै देशका नागरिकलाई प्रवेशमा कडाइ गरेपछि वीरगन्जको अलौंस्थित आइसीपीमा एक हजार भन्दा बढि भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगन्ज आएका भारतीयलाई पर्साको स्थानीय प्रशासनले जेठ १३ गतेदेखि भारतीय प्रहरी प्रशासनसँग समन्वय गरेर भारत पठाउँदै आएको छ । तर शुक्रबार एकै पटक १५ सय भन्दा बढि भारतीय आइसीपी नाकामा पुगेको र ती मध्ये ५ सय जनालाई मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ । शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ हजार भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानैदेखि अलपत्र परेका हुन् ।
भारतीय प्रशासनले ५ सय भन्दा बढिलाई जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ । जसका कारण १ हजार भन्दा बढि भारतीय आइसीपी गेट अगाडिकै सडकमा अलपत्र परेको अलौंका स्थानीयले बताए । भारत प्रवेश नपाएपछि भारतीयहरुले आइसिपी गेट अगाडि होहल्ला गर्दै प्रदर्शन गरेको र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सामान्य बल पनि प्रयोग गरेको जानकारी दिए । आइसीपी नाका हुँदै शुक्रबारसम्म २ हजार भन्दा बढि भारतीयलाई पर्साको स्थानीय प्रशासनले भारतीय प्रहरीको जिम्मा लगाएर भारत पठाइ सकेको छ । शुक्रबार जेठ १६ गते ५ सय , जेठ १५ गते ५ सय ९१ , जेठ १४ गते ६०७ र जेठ १३ गते ३८८ भारतीयलाई भारत पठाइएको बताए । घर फर्कने क्रममा आइसीपी नाकामा आइ पुगेकाहरुलाई अलौंका स्थानीयवासीले गाउँ घरमा सहयोग संकलन गरेर र दाताहरुसँग जिन्सी सहयोग लिएर खाना र बासको व्यवस्थापन गर्दै आएका थिए ।
तर शुक्रबार आइसीपीमा रोकिएका भारतीयहरु १ हजार भन्दा बढि रहेको र अब खानाको लागि खाद्यान्न पनि नभएकाले शुक्रबार साँझदेखि उनिहरुलाइ खाना खुवाउने अवस्था नरहेको स्थानीयले बताए । यसका साथै १ हजार भन्दा भारतीय गाउँसँगै जोडिएको आइसीपीको सडकमा बसिरहरेकाले त्यसले कोरोनाको संक्रमण फैलने हो कि भन्ने त्रास पनि अलौंका स्थानीयमा परेको बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने आइसीपीमा रोकिएका भारतीयले खाना र बासको प्रबन्ध आफ्नै तरिकाले गर्ने बताए ।