![]()
Pnews : काठमाडौं : सरकारले संसद् संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि जनता समाजवादीका नेताहरूले पनि आफ्ना मुद्दालाई सम्बोधन गराउन पहल थालेका छन्। शनिबार जसपाका नेताहरूले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् । सरकारले लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि शुक्रबार संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेको छ। जसपाका नेताहरूले सभापति देउवालाई आफ्ना मुद्दा पनि समेट्नुपर्ने भन्दै यसमा दिन आग्रह गरेका छन्। तर, सभापति देउवाले यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने बताएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘संविधान संशोधनसहित विभिन्न समसामायिक विषयमा छलफल भए, उहाँले पार्टीमा छलफलपछि औपचारिक बैठक बस्ने कुरा गर्नुभयो,’ नेता श्रेष्ठले भने, ‘समग्र राष्ट्रको विषय उठ्दा सबै दलहरू एकजुट हुनुपर्ने र आन्तिरिक कुराहरूका छलफल र सहमति गरेर अगाडि बढ्नुपर्ने कुरा उहाँले राख्नुभयो ।आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दैछ। संविधान संशोधनका विषयमा जसपाका मुद्दालाई साथ दिने कि नदिने भन्ने विषयमा पदाधिकारी बैठकले नै निर्णय गर्नेछ। सरकारले कांग्रेसलाई साथमा नल्याउन्जेल संविधान संशोधनको प्रस्ताव संसद्बाट पास हुन सक्दैन। किनकी संसद्मा कुनैपनि प्रस्ताव पास हुनको लागि दुईतिहाई सांसदको मत चाहिन्छ। जसको कारण पनि जसपाले कांग्रेसको सहयोग खोजेको छ । अहिले सरकारसँग (राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेन र स्वतन्त्र छक्कबहादुर लामा गरी) कुन १७७ मत छ। यो कुल सांसद संख्याको ६४.३६ प्रतिशत हो। विपक्षमा कांग्रेसको ६२ (मोहम्मद आलम र विजयकुमार गच्छदार निलम्बित) जसपा (समाजवादी पार्टी र राजपा)सँग ३४ (रेशम चौधरी निलम्बित) र नेमकिपा एक (प्रेम सुवाल)को गरी कुल ९७ सिट छ। यो कुल सांसद संख्याको ३५.६३ प्रतिशत हो । प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको प्रस्ताव अस्वीकृत गरेको भन्दै गत पुस ८ गते तत्कालीन समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो। अहिले तत्कालीन समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीबीच एकता भइसकेको छ। तत्कालीन दुवै पार्टीको प्रमुख मुद्दा संविधान संशोधन नै थियो। त्यसैले नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा जसपाका नेताहरूले आफ्ना मुद्दा पनि सम्वोधन हुनुपर्छ भन्ने माग राखेका छन् । सरकारले चाहेमा संविधान संशोधनका मुद्दा सजिलैसँग टुंगिनसक्ने जसपाका अर्को नेता महेन्द्र राय यादवले बताए। ‘हामीले पटक-पटक संविधान संशोधनका विषय उठाउनुपर्ने नै होइन, प्रधानमन्त्री ओलीजीले संविधान संशोधनको वचन दिनुभएको थियो तर उहाँले अहिलेसम्म आफ्नो वचन पूरा गर्नु भएन,’ यादवले भने, ‘समय अझै छ, उहाँको आफ्नो वचनलाई यही बेला पूरा गर्न सक्नुहुन्छ । श्रोत : अन्नपुर्ण