![]()
pnews : कोरोनाभाइरस महामारीले उत्पन्न विश्वव्यापी सङ्कटका कारण कर्मचारीलाई काम लगाउने रणनीति तय गर्न कम्पनीहरू व्यस्त भइरहँदा फेसबुक र न्यूजील्याण्डकी प्रधानमन्त्रीले काम गर्ने लचिलो व्यवस्थालाई समर्थन गरेका छन् । बिहीवार फेसबुकले दीर्घकालीन रूपमा नै आफ्नो श्रमशक्तिलाई घर बसेरै काम गर्न मिल्ने व्यवस्था गर्ने जानकारी दिएको छ । न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले यसै साता हप्तामा चार दिन काम गर्दा त्यसले देशको पर्यटनलाई प्रवर्द्धन गर्ने बताएकी थिइन् । अधिकारीहरूले बिस्तारै कोरोनाभाइरसको लकडाउन खुकुलो बनाउँदै गर्दा धेरै रोजगारदाताहरूले कर्मचारीलाई काम गराउने नयाँ तरिकाको खोजी गरिरहेका छन् ।
घरबाटै काम गर्ने विकल्प : फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्गले आफ्ना कर्मचारीहरूलाई ‘घर बसेरै काम गर्न मिल्ने गरी’ जुलाईबाट रोजगारीका अवसरहरू खुला गर्ने बताएका छन् । उनले फेसबुकका आधा कर्मचारीले आगामी पाँचदेखि १० वर्षमा कार्यालय बाहिरबाटै काम गर्ने अपेक्षा गरेको बताए । प्रविधि कम्पनीहरूले विभिन्न किसिमका कदमहरू चालिरहँदा ट्विटरसहितका कम्पनीले कर्मचारीहरूले चाहेमा सदैव घरबाट काम गर्न सक्ने बताएका थिए । सामाजिक दूरीसम्बन्धी नयाँ नियमहरू कतिपय कम्पनीहरूले लागु गरिरहँदा यस्तो नीतिले कार्यालय आउन धक मानिरहेका व्यक्तिहरूलाई राहत दिने ठानिन्छ । प्रधानमन्त्री आर्डनले देशको अर्थतन्त्रलाई प्रोत्साहन गर्न एवम् काम र जीवनबीच सन्तुलन मिलाउन हप्ताको चार दिन काममा लगाउनुपर्ने धारणा राखेकी थिइन् । उनले भनेकी छन्, “मैले धेरैजना व्यक्तिहरूले हामी पनि हप्ताको चार दिन मात्रै काम गरौँ भनेर सुझाव दिइरहेको सुनेको छु । अन्तत: यो रोजगारदाता र कर्मचारीले टुङ्गो लगाउने विषय हो। तर मैले भनेजस्तै हामीले कोभिड – १९ का बारेमा र लचिलो भएर घरबाटै काम गर्ने विषयमा धेरै कुरा सिकिरहेका छौँ र मलाई लाग्छ त्यसबाट थप उत्पादनशील हुन सकिन्छ । ठूला प्रविधि कम्पनीको अग्रसरता प्रविधिसम्बन्धी अग्रणी कम्पनी माइक्रोसफ्टले अघिल्लो वर्ष जापानमा हप्तामा चार दिन काममा लगाउने रणनीति परीक्षण गरेको थियो । त्यसबेला कर्मचारीले दिएका सुझाव र उत्पादनका हिसाबले त्यसलाई सफल ठानिएको थियो। कार्यालयहरू बिस्तारै खुल्दै जाँदा अब ‘मिश्रित खालको रणनीति’ लागु गर्ने उसको भनाइ छ । माइक्रोसफ्टका एक प्रवक्ताले आगामी अक्टोबरबाट अधिकांश कर्मचारीहरूलाई घरबाटै काम गर्ने विकल्प दिइने बताए ।
कुन कम्पनीले कस्तो परिवर्तन गरेका छन् ? : लचिलो र दीर्घकालीन रूपमा कामको व्यवस्थापनका सन्दर्भमा प्रविधि कम्पनीहरूले अग्रणी भूमिका निर्वाह गरिरहेका छन् :
एमेजन: कम्तीमा अक्टोबरसम्म घरबाटै काम गर्ने विकल्प दिएको छ
बार्क्लेज: ७०,००० जना घरबाट काम गरिरहेका ब्याङ्कका उच्च अधिकारीले प्रमुख कार्यालय अब ‘इतिहासको कुरा’ बन्न सक्ने बताएका छन्
फेसबुक: घरबाट काम गर्ने व्यवस्थालाई आफ्नो दीर्घकालीन लक्ष्यको अङ्ग बनाउँदै सन् २०२० को अन्त्यसम्म विस्तार गर्ने निर्णय गरेको छ
गुगल: घरबाट काम गर्ने व्यवस्थालाई यो वर्षको अन्त्यसम्म लागु गरेको छ
मास्टरकार्ड: बहुसङ्ख्यक कर्मचारीहरूले आफू फर्कन तयार नभएसम्म घरबाटै काम गर्न सक्नेछन्
माइक्रोसफ्ट: अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था अक्टोबर महिनासम्मका लागि विस्तार
रोयल ब्याङ्क अफ स्कटल्याण्ड: सेप्टेम्बर महिनाको अन्त्यसम्म घरबाटै काम गर्न मिल्ने व्यवस्था
स्पोटीफाइ: कम्पनीका ४,००० कर्मचारीले यो वर्षको बाँकी अवधि घरबाटै काम गर्न पाउने
ट्विटर: प्रमुख कार्यकारी ज्याक डर्सीले सबै कर्मचारीलाई स्थायी रूपमा नै घरबाट काम गर्ने विकल्प उपलब्ध गराइएको बताएका छन् ।