![]()
pnews : एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन् । दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन् । यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ । “अभूतपूर्व” आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनि सन् २००८ को वित्तीय सङ्कटका बारेमा अरूभन्दा पहिले गरेको अनुमानका लागि चर्चित छन् । “सन् २००८ को सङ्कटका समयमा करिब तीन वर्ष लागेको थियो,” उनले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भने । “तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामै सबै ध्वस्त भयो ।
कठोर : प्राध्यापक रुबिनिले यसबाट फर्कन अर्थतन्त्र ‘यु’ आकारको हुने बताए। यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि माथि उक्लन थाल्नु हो । उनले अझ त्यो ‘एल’ आकारको हुनसक्ने बताए जसको अर्थ शून्यको नजिक लामो समयसम्म रहन सक्छ । यसको कारण धनी र गरिब सबै देशहरूमा कोरोनाभाइरसका कारण गुमेको रोजगारी हो । “गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्कन्छन् एवम् कम तलब र आंशिक रोजगारीका रूपमा बिस्तारै आउँछन्,” उनले भने । “औसत व्यक्तिका लागि आम्दानी र ज्याला अझै कम हुनेछ ।
‘अर्थतन्त्र माथि कसरी जान्छ ? : “तपाईँले पसल र व्यवसाय खोल्न सक्नुहुनेछ तर के तिनीहरूको व्यापार फिर्ता आउँछ भन्ने प्रश्न हो,” रुबिनि भन्छन् । “चीनमा अधिकांश पसलहरू अझै खाली छन् । आधा उडानहरू छैनन् । जर्मनीमा पसलहरू खुल्ला छन् तर को किन्न जान चाहन्छ ? एशियाले भने “अन्य उन्नत अर्थतन्त्रहरू” भन्दा राम्रो वृद्धि देख्ने उनको भनाइ छ । तर अमेरिका र चीनबीच ठूलो विभाजन हुने र धेरै एशियाली देशहरू दुई महाशक्तिबीच एकको पक्षमा लाग्न बाध्य हुने उनको अनुमान छ । “उनीहरूले अन्य देशले कि हामीसँग कि हाम्रोविरूद्ध भन्ने छन्,” प्राध्यापक रुबिनि भन्छन् । “त्यसैले संसार अझ विभाजित हुनेछ । BBC 23 may