![]()
Rambabu Singh Siraha : कपिलवस्तुमा एकै दिन दश जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएपछि भारतसँग सीमा जोडिएका सीमावर्ती जिल्लाहरूमा थप त्रासको अवस्था देखिएको छ । सङ्क्रमणको पुष्टि भएका दशजना नै करिब दश दिनको बीचमा भारतबाट लुकीछिपी नेपाल आएका थिए । स्थानीय बासिन्दाको आग्रहमा उनीहरू क्वारन्टीनमा बस्दै आएको भए पनि यसरी नै लुकीछिपी आएका अरू कैयौं सम्पर्कविहीन भएको बताइन्छ । सोमवार पाइएका कोरोनाभाइरस सङ्क्रमितमध्ये ८ जना यशोधरा गाउँपालिका र दुईजना बुद्धभूमि नगरपालिकाका रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पौडेलले भने, “उनीहरू सबैजना भारतको महाराष्ट्रमा कामका लागि गएका थिए । हामीले सीमामा रोक लगाएका छौँ तर उनीहरू लुकीछिपी आएको हुनुपर्छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार कपिलवस्तुको सीमा दशगजामा अझै पनि करिब २ हजार नेपालीहरू रोकिएका छन् । सोमवार सङ्क्रमित पाइएकासँगै कपिलवस्तुबाट २९० जनाको स्वाब परीक्षणका लागि काठमाण्डू पठाइएको थियो। अरूको रिपोर्ट आउन बाँकी छ । भारतबाट नेपाल आउन रोक लगाइएको बताइए पनि मानिसहरू रातारात आएको र उनीहरूको पहिचान गर्न समेत गाह्रो भएको हुँदा यसले जटिल समस्या निम्त्याउन सक्ने यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताए । 
कति आए रेकर्ड छैन : पाण्डेयले भने, “सरकारले रोकेको भन्छ तर मानिसहरू रातारात आएका छन् । हामी त निकै अप्ठ्यारोमा परेका छौँ। उनीहरू कति सङ्ख्यामा आए, कहाँ छन्, केही थाहा नै हुन सक्ने अवस्था छैन । अहिले पनि प्रदेश नं ५ को सीमापारी ६ हजार भन्दा बढी नेपालीहरू नेपाल आउन पाउने आशामा बसिरहेको अनुमान गरिएको छ । उनीहरूलाई सीमामै रोक्दा झन् ठूलो समस्या देखिन सक्ने सङ्केतको रुपमा कपिलवस्तुलाई बुझ्न त्यहाँका प्रदेश सभा सांसद विष्णु पन्थी आग्रह गर्छन् । उनी भन्छन्, “त्यहाँ रोक्दैमा मान्छे आउन रोकिन्छन् भन्ने अवस्था छैन । नेपाल छिर्ने सैयौँ बाटाहरू छन् । बरू उनीहरूलाई यहाँ ल्याएर छुट्टै राख्न बढी बुद्धिमानी हुन्छ ।
कोही जोगिने अवस्था छैन : पन्थीका अनुसार पछिल्लोपटक सङ्क्रमित भेटिएकामा भारतबाट आएकाहरू परेकाले अवस्था झन् पछि झन् जटिल हुने त्रास बढेको छ । उनी भन्छन्, “हामीले क्वारन्टीन भनेर जहाँजहाँ मान्छे राखेका छौं ती ठाउँहरू व्यवस्थित छैनन् । एक जना सङ्क्रमित भए भने अरू कोही पनि जोगिने अवस्था छैन । सोमवारसम्म कपिलवस्तुमा देखिएका १५ जना सङ्क्रमितहरू सबैजना लकडाउनपछि भारतबाट नेपालमा प्रवेश गरेको बताइएको छ । bbc