![]()
pnews-ktm : नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ११० पुगेको छ । आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड-१९ भेटिएको जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ। जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ । उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । शनिवार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार सङ्क्रमितहरूमध्ये तीन जना भुल्केकै हुन् । अहिलेसम्म प्रदेश नं १ मा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो देशभरिकै सर्वाधिक सङ्ख्या हो । आइतवार अपराह्णसम्म देशभरि १३,६२५ जनाभन्दा बढी मानिस क्वारन्टीनमा थिए भने सम्भावित सङ्क्रमितसहित १६४ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको थियो । अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन् । सरकारले अहिलेसम्म ३१ जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ । तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ । उनी उदयपुरको भुल्के निवासी महिला हुन् । गत बुधवार पुनः नमुना स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताए । उनलाई उपचारका लागि विराटनगर ल्याइने अधिकारीहरूले जनाएका छन् । शनिवार पुष्टि भएका भुल्केका तीन महिलामा पनि दोस्रो पटकको पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिएको थियो । यो सँगै उदयपुरमा कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ३२ र प्रदेश १ मा ३५ पुगेको छ। तीमध्ये १४ जना निको भएर बिदा भइसकेका छन् । हाल विराटनगरमा २० जना सङ्क्रमितको उपचार भइरहको छ ।