![]()
peoples News : भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको “लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए । दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए । तर उनले त्यसबारे थप जानकारी दिएनन् । महाराष्ट्र राज्यले ३० एप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको छ । 
चिन्ता : भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । भारतका विभिन्न राज्यमा भाइरसको असर फरक-फरक रहेको छ । कुनै राज्यमा लकडाउन चल्दाचल्दै पनि त्यसको प्रभाव धेरै परेको छ । दशौँ लाख आप्रवासी कामदारहरूले रोजगारी गुमाएका छन् र उनीहरूले धेरै दु:ख पाइरहेका छन् । भारतमा अहिलेसम्म ७,६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ। तर वास्तविक सङ्ख्या त्योभन्दा बढी हुनसक्ने ठानिएको छ ।bbc