![]()
kathmandu : स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिले सम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ । युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिले सम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटली पछि दोस्रो हो । स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाभाइरसको रोकथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा नराम्ररी असर पुर्याउन सक्ने आकलन भएका बेला राष्ट्रसङ्घको पछिल्लो टिप्पणी आएको हो ।
राष्ट्रसङ्घको प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभरि २ करोड ५० लाख जागिर गुम्न सक्ने अनुमान गरेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि अहिलेसम्म ८ लाख ७० हजार मानिसमा देखिएको पुष्टि भएको छ भने ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोभिड-१९ बाट बुधवार स्पेनमा मृत्यु हुने मानिसहरूको सङ्ख्या मङ्गलवारको भन्दा थोरै बढी छ। मङ्गलवार ८४९ जनाको ज्यान गएको थियो। विगत पाँच दिनयता प्रतिदिन आठ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । 
प्रतिबन्ध : स्पेनमा विगत दुई हप्तादेखि सर्वसाधारणलाई घरबाहिर निस्कन र आवतजावतमा प्रतिबन्ध लगाइएको छ । दुई दिनअघि त्यसमा थप कडाइ गरिएको थियो। तर कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित मड्रिड र क्याटलोनियासहितका क्षेत्रमा स्वास्थ्यकर्मीहरूले आवश्यक चिकित्सकीय सामग्रीको अभावको सामना गरिरहेका छन् । हालसम्म इटली सबैभन्दा नराम्ररी प्रभावित मुलुकको रूपमा देखिएको छ जहाँ कुल सङ्क्रमितको सङ्ख्या १,०५,७९२ रहेको छ भने मङ्गलवार साँझसम्म १२,४२८ जनाको मृत्यु भइसकेको छ । स्पेनमा १,०२,१३६ सङ्क्रमित छन् भने ९,०५३ जनाको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकामा मृत्यु हुने मानिसहरूको सङ्ख्या ४,००० नाघेको छ भने इरानमा मृतकको सङ्ख्या ३,००० पुगेको छ । bbc