कोरोनाभाइरसका कारण इटलीमा मृत्युपछि अझ प्रकोप बढने आशंकामा उचित सममान समेत दिईएको छैन

Loading

www.pnews.com.np : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत प्रियजनलाई अन्तिम पटक बिदाइ भन्ने अवसर धेरै जनाबाट खोसिँदैछ । मिलानस्थित अन्तिम संस्कार आयोजना गर्ने स्थलमा काम गर्ने एन्ड्रिया सेराटो भन्छन्, “यो महामारीले तपाईँलाई दुई पटक मार्छ ।” “पहिलो पटक यसले तपाईँ आफू मर्नुभन्दा अघि प्रियजनबाट एक्लो बनाउँछ। अन्तिमसम्म यसले कसैलाई पनि तपाईँनजिक आउन दिँदैन। परिवारहरू ठूलो पीडाबाट गुज्रिरहन्छन् र उनीहरूलाई यो स्वीकार गर्न पनि गाह्रो हुन्छ ।” इटलीमा कोभिड-१९ का अधिकांश पीडितहरू अस्पतालको एक्लै राखेर उपचार गरिने आइसोलेसन कक्षमा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा अन्तिम सास लिने गरेका छन्।

अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमण सर्ने जोखिमले भ्रमणहरूमा प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य अधिकारीहरुले शवबाट भाइरसको सङ्क्रमण नहुने बताएका छन् । तर उनीहरूले केही घण्टासम्म भाइरस मृतक व्यक्तिका कपडामा जीवितै रहन सक्ने उल्लेख गरेका छन्। त्यसैले शवलाई तत्कालै ‘सील’ गर्ने गरिएको छ । क्रेमोनास्थित शवको अन्तिम संस्कारको तयारी गर्ने मासिमो म्यानक्यास्ट्रोपा भन्छन्, “धेरै जना परिवारले हामीसँग के अन्तिम पटक शव हेर्न पाउँछौँ भनेर सोध्नुहुन्छ। तर त्यसो गर्न निषेध गरिएको छ।”

मृतकलाई अरू बेलाजस्तो उनीहरूले सबैभन्दा राम्रा वा बढी मन पर्ने कपडा लगाइँदैन। बरू अस्पातलको गाउनमै गुपचुप गाड्ने गरिन्छ। तर मासिमो आफूले सकेसम्म गरिरहेको बताउँछन् ।

‘मृतकलाई सजाउन नपाउनु निकै दुःखको कुरा हो’

“हामीले परिवारले दिएका कपडाहरू मृतकले लाएको जस्तै देखिनेगरी शवमाथि राखिदिन्छौँ। माथि सर्ट र तल स्कर्ट,” उनी भन्छन् । अन्तिम संस्कारका लागि शवहरू तयार पार्ने जिम्मेवारीमा रहेका ‘अन्डरटेकर’हरूले महामारीको पछिल्लो अवस्थामा आफूलाई एकाएक वैकल्पिक परिवार, वैकल्पिक साथी र वैकल्पिक पादरीसम्मको भूमिकामा पाइरहेका छन् । कोरोनाभाइरसका कारण ज्यान गुमाएका मानिसका नजिकका आफन्तहरू क्वारन्टीनमा बसिरहेका छन् । एन्ड्रिया भन्छन्, “हामी उनीहरूको सबै जिम्मेवारी सम्हाल्छौँ। हामी अन्तिम संस्कारमा प्रयोग गरिने कफिनको तस्वीर प्रियजनलाई पठाइदिन्छौँ । “त्यसपछि अस्पतालबाट शव सङ्कलन गर्छौँ र त्यसलाई गाडिदिन्छौँ वा जलाइदिन्छौँ। उनीहरूका सामु हामीलाई विश्वास गर्नुबाहेक अन्य विकल्प छैन ।” bbc

Leave a Comment