औषधिको आपूर्तिमा भारतद्वारा रोक

Loading

pnews.com.np भारतले अत्यावश्यक ‍औषधि र त्यसको कच्चापदार्थको निर्यातमा नियन्त्रण गरेपछि नेपालले आफ्नो हकमा त्यस्तो कडाइ नगर्न दिल्लीलाई अनुरोध गरेको अधिकारीहरूले बताएका छन् । हाल बाङ्लादेशमा रहेका नेपालका वाणिज्य सचिव बैकुन्ठ अर्यालले आफ्ना भारतीय समकक्षीसँग टेलिफोनमा कुराकानी गरि नेपालमा औषधिहरूको आपूर्ति नरोक्न अनुरोध गरेको वाणिज्य मन्त्रालयका एकजना सहसचिवले बीबीसीलाई बताए । भारतले २६ प्रकारका औषधि र तिनका कच्चापदार्थको निर्यात नियन्त्रण गर्ने बताइरहँदा त्यसले नेपालमा अत्यावश्यक औषधिहरूको अभाव हुनसक्ने ठानिएको छ । तर अधिकारीहरूले कम्तीमा तीन महिनासम्म पुग्ने मौज्दात देशभित्र उपलब्ध रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन्।

भारत ‘सकारात्मक’ भारतले दुखाइ नियन्त्रण गर्ने सिटामोल, विभिन्न प्रकारका भिटामिन सहित २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातलाई सीमित गर्न लागिएको घोषणा दुई दिन अघि गरेको थियो । उक्त विषयमा नेपालले भारतको ध्यानाकर्षण गराएको र सकारात्मक जवाफ पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले बताए । उनी भन्छन्, “बाङ्लादेशमा रहनुभएका वाणिज्य सचिवले उतैबाट भारतका वाणिज्य सचिवसँग कुराकानी गर्नुभएको छ। भारत नेपालको सन्दर्भमा सकारात्मक छ भनेर हाम्रो सचिवले भन्नुभएको छ। हामी निरन्तर सम्पर्कमा नै छौँ।”

उनले थपे, “हाम्रो मुख्य चासो औषधिको कच्चापदार्थ हो। भारतीय पक्षले आफ्नोतर्फबाट यो कुरालाई गम्भीरतापूर्वक लिने र सकेसम्म चाँडो स्थितिलाई सामान्यीकरण गरिने भनेर भनेका छन् भनेर मैले जानकारी पाएको छु ।” भारतीय औषधि निर्माताहरू पनि आफ्नो देशमा बन्ने औषधिको लगभग ७० प्रतिशत हिस्सा कच्चा पदार्थका लागि कोरोनाभाइरसको सङ्क्रमण सुरुमा फेला परेको चीनमा निर्भर रहने गरेका छन्।

तीन महिना पुग्ने मौज्दात बुधवार औषधि व्यवस्था विभागले नेपालमा मौज्दात रहेका औषधिको परिमाणबारे यकीन जानकारी गराउन औषधि उत्पादक र विक्रेताहरूलाई भनेको थियो । उक्त बैठकमा व्यवसायीहरूले तीन महिनासम्म पुग्ने औषधिको मौज्दात रहेको जानकारी गराएका थिए । भारतले औषधिहरूको निर्यातमा नियन्त्रण गरेको विवरणसँगै कतिपय विक्रेताले आफ्ना फार्मेशीमा भिड लागेको र उपभोक्ताहरूले अत्यावश्यक औषधिको सञ्चिति गर्न थालेको बताएका छन् । औषधिको नियार्त प्रभावित हुने विवरणपछि सम्भावित कालोबजारीलाई लिएर चिन्ता पनि प्रकट भइरहेका छन् । वाणिज्य मन्त्रालयका सहसचिव आचार्यले कालोबजारी हुन नदिन औषधि व्यवस्था विभाग र वाणिज्य विभागले काम गरिरहेको र समग्र आपूर्तिको विषयमा मन्त्रालयमा बिहीवार छलफल हुने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि विक्रेता र उत्पादकहरूले कम्तीमा तीनदेखि चार महिनासम्मका लागि सञ्चिति राखेकाले तत्कालै बजारमा अत्यावश्यक औषधिको अभाव नदेखिने बताए।

उनी भन्छन्, “कोरोनाभाइरसको सङक्रमणका कारण आपूर्ति असहज भइरह्यो भने बजारमा मूल्य तलमाथि हुनेदेखि अभाव हुनेसम्मका समस्या देखिन सक्छन्। तर अहिले तीनदेखि चार महिनाका लागि केही असर नपर्ने जानकारी हामीले पाएका छौँ ।” औषधि उत्पादकहरूले पनि ज्वरो र दुखाइका बेलामा बढी प्रयोग हुने सिटामोल, रक्तचाप अनि मधुमेहसम्बन्धी कतिपय औषधिहरू स्वदेशमै उत्पादन हुने भन्दै यथास्थितिमा केही महिनाका लागि ती औषधिको अभाव नहुने बताएका छन् ।

  • कोरोनाभाइरसले मानिसको शरीरमा के गर्छ कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ
  • के मास्कले भाइरस छेक्न सक्छ  नेपाल फर्मास्युटिकल एशोसियसनका अध्यक्ष शशीकान्त चौधरी भन्छन्, “सबै उत्पादनकर्ताले कम्तीमा तीनदेखि छ महिनासम्मका लागि आफ्ना औषधि र कच्चापदार्थको सञ्चिति राखेको हुन्छन्। कम चल्ने औषधिहरूको हकमा नौ महिनासम्मका लागि सञ्चित गरिएको हुन्छ ।” “नेपाली उद्योगीहरूले ल्याउने कच्चापदार्थ केही भारतमा नै बनेको हुन्छ र कति चीनबाट आउँछन्। कति चाहीँ भारतले चीनबाट कच्चापदार्थ खरिद गरेर त्यसलाई थप प्रशोधन गरी विक्री गर्ने गरेको छ। त्यसमा केही समस्या हुन्छ र मूल्य बढ्न सक्छ भन्ने मलाई लाग्छ।”
  • औषधिमा पनि भारत र चीनमै निर्भर नेपालमा खपत हुने औषधिमध्ये झण्डै ४५ प्रतिशत स्वदेशमा नै उत्पादन हुने र करिब ५५ प्रतिशत विदेशबाट त्यसमा पनि मुख्य गरि भारतबाट आयात हुने गरेको छ । तर नेपालमा उत्पादन हुने औषधिका लागि चाहिने लगभग ९९ प्रतिशत कच्चापदार्थ विदेशबाटै भित्रिने गरेको अधिकारीहरू बताउँछन् । नेपालमा होमियोपेथी र एलोपेथी उपचार विधि अन्तर्गत प्रयोग हुने अधिकांश औषधिका कच्चापदार्थ विदेशबाट भित्रिने गरेको अधिकारीहरू बताउँछन् । आयुर्वेद औषधि भने स्वदेशी कच्चापदार्थबाटै बन्ने भएकाले त्यसमा ठूलो समस्या नदेखिने आफूहरूले ठानेको औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बताए । bbc

Leave a Comment