![]()
pnews.com.np : आफ्नो नयाँ गीतको म्यूजिक भिडिओमा टेलर स्वीफ्टले सिगार पिउने र वयस्क मनोरञ्जन स्थलहरू चहार्ने पुरुषको भूमिका खेलेकी छन् । ‘द म्यान’ अर्थात पुरुष शीर्षकको सो गीत उनको सातौँ एल्बम ‘लभर’मा समावेश छ जुन उनले गत वर्ष ‘बिग मशिन’ कम्पनीसँगको सम्झौता तोडेपछिको पहिलो एल्बम हो । सङ्गीत उद्योगमा रहेका पुरुषहरूमाथि भिडिओ लक्षित छ । विशेषगरी गत वर्ष स्वीफ्टका सबै पुराना गीतहरूको अधिकार किनेका स्कूटर ब्राउनतर्फ उक्त भिडिओ लक्षित भएको बताइएको छ ।
सो भिडिओको निर्देशक, निर्माता र मालिक स्वीफ्ट भएको कुरामा जोड दिइएको छ । भिडिओमा प्रमुख पात्र भूमिगत रेलको भित्तामा शौचालय गर्न रोकिन्छ। त्यो भित्तामा ‘बिग मशिन’ले निर्माण गरेका स्वीफ्टका पुराना छ अल्बमका नामहरू रङ्ग्याएको देखिन्छ । सो भित्तामा एउटा पोस्टर टाँसिएको छ जसमा लेखिएको छ: “हराइरहेको छ। फेला परेमा टेलर स्वीफ्टलाई फिर्ता गर्नु होला।” त्योसँगै “स्कूटर निषेध” संकेत छ ।
गएको जुनमा ३० करोड अमेरिकी डलरमा ‘बिग मशिन’ किनेपछि ब्राउनमाथि आफ्नो साङ्गीतिक इतिहासलाई ध्वस्त पार्न खोजेको स्वीफ्टले आरोप लगाउँदै आएकी छन् । गएको नोभेम्बरमा स्वीफ्टले ‘ब्राउन’ र ‘बिग मशिन’का संस्थापक स्कट बोर्चेटाले अमेरिकन म्यूजिक अवार्ड्समा आफ्ना पुराना गीतहरूको रिमिक्स गाउन रोक्न खोजेको दाबी गरेकी थिइन् । उनीहरूले त्यो दाबी अस्वीकार गरेका थिए र स्वीफ्टले रिमिक्स गाएकी थिइन् । ब्राउनले आफ्नो परिवारलाई धम्की आएको भन्दै स्वीफ्टसँग आफूविरुद्ध नबोल्न अनुरोध गरेका थिए।
अमेरिकन म्यूजिक अवार्ड्समा गीत गाउँदा उनले आफ्ना पुराना अल्बमहरूको नाम लेखिएको जेलमा लाउने जस्तो सेतो शर्ट लगाएकी थिइन् । सो अवार्ड्समा उनले छवटा पुरस्कार हात पारेकी थिइन् । बिलबोर्ड अवार्ड्समा दशकको गायक पुरस्कार लिएपछि उनले ब्राउनको नामै लिएर उनले आफूमाथि भएको व्यवहार पुरुष सर्वेसर्वा हुने भन्ने घातक धारणाको परिभाषा रहेको बताएकी थिइन्। bbc

