अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन् । तर भारतको राजधानी दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको अहिलेसम्म किन भ्रमण हुन नसकेको होला ? नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको स्थापना सन् १९४८ मा भएको हो । तर अहिलेसम्म त्यहाँ राष्ट्रपतिको भ्रमण हुन नसक्नुको पछाडि अमेरिकाको प्राथमिकतामा नेपाल नपरेर हो वा नेपालले पर्याप्त पहल नगरेर हो? यो प्रश्न हामीले केही परराष्ट्रमामिलाका जानकारहरूलाई सोधेका थियौँ।
तीन कारण : अमेरिकाका लागि नेपालका पूर्वराजदूत शङ्कर शर्मा अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुका तीनवटा कारण देख्छन् । शर्माका अनुसार
पहिलो- “नेपालको मुद्दा बलियो छैन। अरू ठूला देशमा जस्तो हाम्रो अमेरिकासँग व्यापार लगानीको सम्बन्ध पनि छैन। हामी केवल आर्थिक सहायता मात्रै लिने मुलुक हौँ ।”
दोश्रो- “भ्रमणको व्यवस्थापन। उनीहरूको व्यवस्थापन चिनियाँ राष्ट्रपतिका लागि भन्दापनि फरक र विशेषखालको छ।”
तेस्रो- “उनीहरूका लागि नेपालको महत्त्व नै कम छ।”
पूर्व परराष्ट्रसचिव मधुरमण आचार्य पनि नेपालको महत्त्व कम आँकिएकाले नै अमेरिकी राष्ट्रपति नेपाल नआएको ठान्छन् । “हाम्रो प्राथमिकतामा उनीहरू परेर मात्रै भएन, हामी उनीहरूको प्राथमिकतामा परेका छैनौँ। छिमेकी चीनका राष्ट्रपतिलाई नेपाल ल्याउने विषय त त्यतिका समय लाग्यो। यो पनि हुनसक्छ तर समय लाग्छ,” आचार्यले भने । अमेरिकी राष्ट्रपति ल्याउने चाहना भए त्यसको पहल गर्नु अगाडि भ्रमणमा आउने राष्ट्रपतिको चासोको विषयलाई रणनीतिक रूपमा अध्ययन गर्नुपर्ने पूर्व राजदूत शर्माले बताए ।
‘ओबामा ल्याउने पहल’ नेपालमा यसअघि अमेरिकाका उपराष्ट्रपति स्पाइरो एग्न्यू (सन् १९७०) र विदेशमन्त्री कोलीन पावेल (सन् २००२)ले भ्रमण गरेका भए पनि राष्ट्रपति स्तरको भ्रमण हुन सकेको छैन । सन् १९९५ मा प्रथम महिला हिलरी क्लिन्टनले आफ्नी छोरीसहित नेपालको भ्रमण गरेकी थिइन् । यसअघि आफू अमेरिकाका लागि राजदूत भएका बेला तत्कालीन राष्ट्रपति बराक ओबामालाई ल्याउनका लागि पहल गर्ने प्रयत्न गरेको पूर्व राजदूत शङ्कर शर्माले बताए।
मोदी-ट्रम्प वार्ताको अर्थ – नेपाललाई के ? पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नेपालको भूराजनीतिक सम्वेदनशीलता पछिल्ला दिनमा अत्यन्तै बढेर गएको बताउँछन् । “नेपाल केही वर्षदेखि भारत, चीन र अमेरिकाको सामरिक रेडारभित्र परिसकेको छ र त्यो ताप नेपालको राजनीतिले भोग्न थालिसकेको छ। त्यो सन्दर्भमा मोदी र ट्रम्पको वार्तामा नेपालको ध्यान केन्द्रित हुन्छ ।” एउटा छिमेकी देश पहिला नै महाशक्ति राष्ट्रको प्रतिस्पर्धी भइसकेको र अर्को हुने क्रममा रहेका बेला नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोण फरक हुने उनले बताए।
यस्तो बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्ताले नेपालका लागि के अर्थ राख्छ ? जबाफमा पूर्व परराष्ट्रमन्त्री पाण्डेले बीबीसीलाई भने, “दक्षिण एसियामा अमेरिका र भारतको बीचमा कस्तो सामरिक सोच बन्छ, त्यसमा भारतको केन्द्र स्थान कस्तो रहन्छ, भारतको क्षेत्रीय हैसियत वृद्धिमा अमेरिकाले कुन भूमिका खेल्न खोज्छ – यिनै सन्दर्भमा यो प्रश्नको जबाफ खोज्नुपर्छ ।” bbc