भक्तपुरमा कोरोनाको आतंकले स्थानीय त्रसित

Loading

  1. काठमाडौं । चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो । उहाँले आइतबारदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थय परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेत गर्नेगरी व्यवस्थापन गर्न लगाइएको बताउनुभयो ।

 

 

चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आइतबारदेखि हेल्थ डेक्स स्थापना गरेको हो । हेल्थ डेक्समा अस्पतालका डा मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ । डा बज्राचार्यले आज १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको जानकारी दिनुभयो

प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा बज्राचार्यले आइतबार पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको बताउनुभयो । नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चलन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।

नगरप्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको बताउनुभयो । स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उहाँको भनाइ छ । सरकारले आइतबार १७५ नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ ।

Leave a Comment