![]()
चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो । नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ । मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको देखिएको थियो । यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शाङ्घाईका पार्टी प्रमुखलाई त्यहाँ पठाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो । केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो।
रोग पुष्टि गर्ने नयाँ विधि
चीनभरि भएका सङ्क्रमित मानिसमध्ये ८० प्रतिशत हुबेका हुन् । उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसको सङ्ख्यालाई मात्र सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा समाविष्ट गर्ने थालेको छ । अब न्यूक्लेइक एसिड परीक्षणमा मात्र निर्भर नभएर सङ्क्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा परेको असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ । वुहानमा ज्यान गुमाउने २४२ मध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । अर्थात् नयाँ परिभाषा अनुसरण नगर्दा पनि बुधवार १०७ जनाको मृत्यु भएको थियो । नयाँ सङ्क्रमण भएका कुल १४,८४० मध्ये १३,३३२ जनामा नयाँ विधिबाट रोग लागेको पुष्टि भएको थियो । अहिलेसम्म उक्त प्रान्तमा सङ्क्रमण भएको व्यक्तिको सङ्ख्या ४८,२०६ पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको चिन्ता मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको परिप्रेक्ष्यमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनमा देखा परेको उक्त प्रकोपलाई अतिसावधानीपूर्वक लिनुपर्ने बताएका थिए । जिनिभामा भएको एउटा सम्मेलनमा बोल्दै टेड्रोस एड्हानोम गेहब्रेयससले व्यक्ति वा देशैविरुद्ध यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणका लागि गरिएका प्रयासमा असर पार्ने बताए । “यो प्रकोप अझै पनि जुनसुकै दिशामा जान सक्छ। सङ्क्रमितको सङ्ख्याबारे बताउने देशहरूको सङ्ख्या पनि फेब्रुअरी ४ यता परिवर्तन भएको छैन । “गत डिसेम्बरदेखि फैलिएको उक्त भाइरसलाई परास्त गर्न सयौँको सङ्ख्यामा जनस्वास्थ्य अधिकारी, सरुवा रोग नियन्त्रणका अधिकारी र वैज्ञानिकहरूले विश्वव्यापी योजनाबारे छलफल गरेका छन् ।bbc
