![]()
peoples news : कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेका छन् । ती ३१ वर्षीय व्यक्ति चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए । वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनुपर्ने अवस्था नआएको उनी बताउँछन् । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो । चिकित्सकहरूका अनुसार नेपालका पर्रथ पहिलो कोरोनाभाइरस सङ्क्रमित ती व्यक्ति अहिले पूरै स्वस्थ भइसकेका छन् ।
प्रस्तुत छ बीबीसी न्यूज नेपालीले उनीसँग बिहीवार गरेको कुराकानीमा आधारित यो विवरण –
“म चीनको वुहान सहरमा अध्ययन गर्छु। ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म ज्यानुअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ । मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो । त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डूको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो । म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिनुभयो ।
कोरोनाभाइरस सङ्क्रमणको आशङ्का
त्यसपछि टेकु अस्पतालमै राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनुभयो र राम्रो हेरचाह गर्नुभयो । मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो । कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ । पछि हङ्कङबाट मेरो खकारको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ । डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नुभयो। त्यसपछि म केही डराएँ । केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाण्डूमै फेरि मेरो परीक्षण गरियो। त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो ।
‘सङ्क्रमणमुक्त‘ तैपनि म सावधान रहिरहेँ। चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ । त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो खकार जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो । त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु। आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु ।
कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने ? अहिले एक महिना बितिसकेको छ। म पूर्ण रूपमा स्वस्थ भइसकेको छु। मलाई कुनै स्वास्थ्य समस्या छैन । वुहानको मेरो विश्वविद्यालयमा बिदा भएकोले म नेपालमै आफ्नो अध्ययनमा जुटिसकेको छु । मेरो घर परिवारका सदस्यलाई मलाई कोरोनाभाइरस सङ्क्रमण भएको र पछि ठिक भएको थाहा छ। मलाई सबैले माया गर्नुहुन्छ। कसैले कुनै भेदभाव गर्नुहुँदैन । मैले कोरोनाभाइरसबारेका खबरहरू पढिरहेको छु। अहिले चीनको हुबे प्रान्त र त्यहाँको वुहान शहरमा नेपाल फर्किने प्रतीक्षा गरिरहेका नेपालीहरूमा अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको मलाई थाहा छैन । म पनि त्यहाँ रहेका मेरा साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उहाँहरू स्वस्थ रहेको बताउनुभएको छ । उहाँहरूलाई नेपालमा अलग्गै जहाँसुकै राख्दा पनि स्थानीय स्तरमा कुनै समस्या हुँदैन। आत्तिनुपर्ने अवस्था छैन । सबै जनाले (छिउँ गर्दा मुख छोप्ने, साबुनले हात धोइराख्ने जस्ता) आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन चाहिँ जरुरी छ ।
चीन फर्किने योजना
मेरो विचारमा चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ । म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ। उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु । मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ । त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ ।” BBC

