Peoples News : अहिले शक्तिशाली सरकार देशले पाएको छ तर परम्परागत रुपमा विधीमा प्रवेश गरेको बेथिति जसले आर्थिक, राजनीतिक, समाजिक, साँस्कृतिक, धार्मिक तथा मौलिक पहिचान समेतलाई नराम्ररी प्रभावित गरेको छ, हटाउन सकिएको छैन । बेथिति आम जनताले देखिने कुरा हो, राज्यसत्ताले होइन । सत्तामा हुनेका लागि बेथिति आनन्दित जीवनका लागि सञ्जिवनी प्रदायक तत्व हो । बेथितिको विरोधमा देशमा धेरै आन्दोलनहरु भए । परिवर्तनका उच्चतम विचारहरुको अभ्यास पनि भयो । नयाँ नयाँ मोडलका आर्थिक नीति तथा कार्यक्रमहरु ल्याईए । बेथिति हटाएर वैज्ञानिक प्रविधिका साथ देशको उन्नति, प्रगतिको दावा गर्ने राजनीतिक दलहरु वर्षातका खोला जस्तै उफ्रेर सरकारमा गएपछि निस्तेज भएको उदाहरण सबैले अनुभव गरेको कुरा हो । बेथितिले व्यक्तिगत धनलाभ को ढोका खोल्छ र मानिसलाई धन कुबेर बनाउँछ । यही बाटोबाट व्यक्ति धन संग्रह गर्न अनेक अनैतिक मानिससंग सम्बन्ध बनाउन पुग्छ र भ्रष्टहरुको संगठन विस्तार हुँदै महा सञ्जाल तयार हुन्छ र यो संगठन भ्रष्ट, अनैतिक, माफिया, तस्कर, गुण्डा, असामाजिक तत्वहरुको अखाडा बनाउँछ र भ्रष्टाचारको परम्परालाई निरन्तरता दिन्छ ।
जन प्रतिनिधीको रुपमा आएकाहरु हेर्दा सफेदपोश, सत्य प्रवचन गर्ने, परोपकारी कुरा गर्ने, जन उत्तरदायी समावेशी लोकतन्त्रको पाठ पढाउने, नैतिकताका कुरा गर्ने, अनुशासन, शिष्टता देखाउने र पालन गर्न उपदेश दिने, विश्वस्तरको प्रविधी ल्याएर देश विकासको कुरा गर्ने आदि भद्र, शालीन रुपमा देखिने भ्रष्टहरुको राज्य संयन्त्रमा एकाधिकार कायम छ । शक्तिशाली सरकार पनि राज्यसत्ताको पारम्परिक भ्रष्टाचार योजनालाई हटाउन नसकेको, अर्थ, राजनीति र विकास लगायत सबै क्षेत्रमा माफियाहरु हावी भएकोले यिनीहरु कै निर्णय अनुसार सबै चल्ने परिपाटीमा कुनै फेरबदल गर्न नसकेको सरकारको असक्षमताबाट के अर्थ निस्किन्छ ? भ्रष्टाचार कै कारण निर्वाचन अति खर्चिलो बन्न पुगेको छ । धन खर्च गरेर आउने जो कोही पनि आपूmले खर्च गरेको ४ दोब्बर कमाउने नियतमा रहन्छ । उसले भ्रष्टाचारबाहेकका कुरा सोच्दैन, बुझ्दैन पनि । यसरी भ्रष्टाचार क्रमिक रुपले झाँग्गिदै जान्छ र बेथितिलाई कहिल्यै निर्मूल गर्न सकिंदैन । माफियातन्त्रले धन आर्जन गर्ने उद्देश्यले देश विकासको कुरा गर्छ तर विकास परियोजनालाई परिणाममुखी हुन दिंदैन । ताकि यो असफल परियोजनामा पुनश्च सहयोग जुटाएर धनार्जन परम्परालाई अगाडि बढाउन सकियोस् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याएर नेपालमा असिमित परिवर्तन गराएको यश, कीर्ति लिने दलहरुको दुईतिहाईको सरकार बनाउँदा पनि देश अग्रगामी दिशामा किन अगाडि बढि रहेको छैन ? युवा शक्तिको पलायन किन रोकिएको छैन ? किन यत्र, तत्र, सर्वत्र विरोधका आवाजहरु घन्कि रहेका छन् ? आर्थिक क्षेत्रको दयनीय अवस्थाको चित्कार त्यसै छर्लङ्ग देखिन्छ । व्यापार घाटा प्रतिवर्ष २१% ले बढ्दै जाने आफ्नो थिति बनाई सकेको छ । आयातको तीब्रतर वृद्धिले हाम्रो मौलिकता क्षीण भई रहेको छ । निर्यात घुम्टो ओढेर बेहुली जस्तै गतिहीन छ । उत्पादक क्षमता बढाउने अनेक योजना तर्जुमा गरिएपनि उत्पादन क्षेत्र पूर्ण विराम अवस्थामा छ । राज्य संयन्त्र भ्रष्टाचारमा पूर्णतया लिप्त छन् भन्ने सम्बन्धमा ट्रान्सपेरेन्सी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा उल्लेख गरि सार्वजनिक गरेको कुराबाट सरकारहरु कोही यसबारे सम्बेदनशील बनेन । राजनीतिक दलहरु आकार अनुसार भ्रष्ट आचरणमा बढि लिप्त छन् प्रतिवेदनले देखाएको छ । यहाँ संस्थागत भ्रष्टाचारको बोलवाला छ, सबैले बुझेको कुरा हो । राज्य संयन्त्र विदेशी लगानी आकर्षित गर्नेदेखि लिएर विकास योजना बनाएर बजेट सिध्याउने तर उपलब्धि शून्यमा राख्ने, फेरि त्यही योजना देखाएर अरुसंग लगानीको आग्रह गर्ने यो परम्परा निर्बाध चल्दै आएको हो । राज्य संयन्त्रसंग सम्बन्ध राख्न आउने नयाँ मानिस पनि विस्तारै संयन्त्रबाट प्रभावित भई भ्रष्टाचार संगठनका सक्रिय सदस्य भई काम गर्न थालेको प्रष्ट देखिन्छ । राज्य संयन्त्रलाई भ्रष्टाचारमुक्त नबनाएसम्म यहाँ उन्नति, प्रगतिको कल्पना गर्नु बेकारको कुरा हो । भ्रष्टाचार मुक्त भए उन्नति, प्रगतिको थिति बस्छ । कर्मचारीमा भ्रष्ट आचरणको न्यूनीकरण हुन्छ । भ्रष्टाचार गर्ने कडा कानूनको शिकार हुने हुनाले सबै देशको उन्नति, प्रगतिमा स्वतः सक्रिय हुन्छन् । बेथिति हटेपछि उद्योग धन्दाहरु सुचारु हुन्छ । विकास, उत्पादनशीलता विस्तारै गति लिन थाल्छ । स्मरण रहोस् भ्रष्ट संयन्त्रले व्यक्ति पाल्छ भने शुद्ध राजकीय संयन्त्रले देश बनाउँछ ।