२ नं प्रदेशको अवस्था र सरकारको दायित्व

संघीय सरकारमा नै भ्रष्टाचार व्याप्त छ भने प्रदेश सरकार अछूता कसरी रह्न सक्दछ ? प्रदेश नं २ संघीय अभ्यासमा ज्यू ज्यानसंग लागेको छ । अनवरत आन्दोलन गरेर सयकडौं वीर सपूतहरुको शहादतबाट प्राप्त प्रदेश सरकारमा मन्त्रीहरुको तछाड मछाड स्वाभाविक हो । पाएको अधिकारको शत प्रतिशत भोग चलन गर्नु नैसर्गिक हक हो । तर यो अभ्यास भ्रष्टाचारका लागि नहोस् । मधेशको विकास, सामाजिक सुधार, शिक्षाको स्तरमा गुणात्मक वृद्धि, स्वास्थ्यमा विपन्नवर्गको सहज पहुँच, महिला शिक्षामा जोड, सवैका लागि शिक्षाको सहज पहुँच, कृषि, सडक, उर्जा, नदि नियन्त्रण आदि प्राथमिकतामा रह्ने कार्यक्रमहरु संचालनमा प्रतिस्पर्धा हुनु पर्दछ ।
शिक्षा क्षेत्रमा पिछडिएको मधेशी समाजमा शदियौंदेखि संस्कारको रुपमा रहेको विकृति पहिचान गरि यसलाई जन जागरणको माध्यमबाट हटाउन उत्तिकै आवश्यक छ । छुवाछूत, दहेजप्रथा, महिला हिंसा, बोक्सीप्रथा, बलात्कार, हत्या, हिंसा मधेशमा आम रुपमा देखिएका विषय हुन् । महिला तथा बालिका बलात्कारका घटनाहरु व्यापक रुपमा बढ्दै गएको यथार्थबाट प्रादेशिक सरकारले आँखा चिम्लिनु हुँदैन । यी विकृतिबाट निजात पाउन सरकारले ठोस कार्यक्रमका साथ अगाडि बढ्नु पर्दछ ।
हुनत केही प्रादेशिक मन्त्रीहरुको आर्थिक अनियमितताका घटनाहरु समाचारमा दिनहूँ जसो प्रकाशित हुनु प्रादेशिक सरकारको कलंकलाई उजागर गर्छ र त्यस्ता मन्त्रीहरु फेर्ने राजनीतिक वृतमा चर्चा पनि छ । हलाँकि “बेटी बचाउ, बेटी पढाउ” अन्तर्गत मुख्यमन्त्रीको छात्राहरुलाई साईकिल वितरण, खाजाकोसाथै रु ५०० आदि सुविधा प्रदान गरि छात्राहरुलाई पढाईमा आकर्षित गर्ने योजना प्रशंसनीय छ । लोकसेवाका परिक्षार्थीहरुलाई निःशुल्क तयारी कक्षाको व्यवस्था गरि दिनु मुख्यमन्त्रीको अर्को सराहनीय कदम हो ।
मधेशमा भई रहेको बलात्कार, हत्या, हिंसा, बोकसीलाई अमानवीय ढंगले गरिने व्यवहार आदि असामाजिक गतिविधीप्रति प्रादेशिक सरकारको ध्यानाकृष्ट हुन अपरिहार्य देखिन्छ । मधेशको कृषिको दयनीय अवस्थाप्रति सरकारको ठोस नीति आउनु पर्दछ । एग्रो टुरिज्मको प्रशस्त सम्भावना बोकेको २ नं प्रदेशको धरातलीय समस्याप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।
मन्त्रीहरुले भ्रष्टाचारमा आफ्नो रणकौशल देखाउनुभन्दा बेहतर समाजको निर्माणमा उर्जा खर्च गर्नु पर्दछ । शदियौंदेखि अवसरविहीन जनताको जीवन शैली बदल्ने कुरामा प्रतिस्पर्धा हुनु पर्दछ । पहिलो पल्ट प्रादेशिक सरकारको अभ्यासमा भ्रष्टाचारको विषयलाई प्राथमिकतामा राख्नु कस्तो शर्मनाक घटना हो । यस्तो कलंकबाट सधैं बच्नु पर्दछ । समाजमा युवा परिचालन गरि सुधारका कार्यहरुलाई सरकारले अगाडि बढाउनु पर्दछ ।
अशोक यादब
(निज आम आदमी पार्टीका राष्ट्रिय अध्यक्ष हुनु हुन्छ)

उपेन्द्र झा

Leave a Reply