नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गर्न वरिष्ठ चिनियाँ नेता काठमाण्डूमा

Loading

Peoples News : चिनियाँ राष्ट्रपति सी जिन्पिङको सम्भावित नेपाल भ्रमणको मुखैमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीले काठमाण्डूमा एउटा विचारात्मक छलफल कार्यक्रम आयोजना गरेका छन् । झन्डै दुईतिहाइ बहुमतको समर्थनप्राप्त सरकारको नेतृत्व गरिरहेको नेकपा र चीनमा सात दशकदेखि अविच्छिन्न शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच नेपालमा हुने उक्त कार्यक्रमलाई राजनीतिक विश्लेषक तथा अन्यले निकै चासोका साथ हेरेका छन् ।

नेकपानिकट स्रोतहरूका अनुसार उक्त द्विदिवसीय कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको विचारधाराबारे छलफल गरिने र उत्तरी छिमेकले लागु गरेका नीति तथा तिनको बलमा प्राप्त उपलब्धिबारे एक किसिमको राजनीतिक प्रशिक्षण दिइनेछ। तसर्थ उक्त कार्यक्रमको विशेष महत्त्व भएको उनीहरू बताउँछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सोन थावले प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नेछन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । दाहालले नेपालमा कम्युनिस्ट आन्दोलन र उपलब्धि आदि विषयमा धारणा राख्नेछन् भने ओलीले कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको विकासको खाकाबारे चर्चा गर्ने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
छलफल
कार्यक्रममा चीनका राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेको विचारधाराबारे गहन छलफल हुने पार्टीनिकट स्रोतहरूको भनाइ छ।

Leave a Comment