निर्वाचन : कुनै दलको बहुमत आएन, संयुक्त सरकार निर्माणका लागि राष्ट्रपतिको सक्रियता

Loading

Peoples News : इजरेलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन अग्रसरता लिने एउटा उल्लेखनीय सहमति भएको त्यहाँका राष्ट्रपतिले जनाएका छन् । राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँगको भेटपछि दुवै नेताले महत्त्वपूर्ण कदम चालेको बताएका हुन् । राष्ट्रपतिले दुई प्रतिस्पर्धी नेतासँग गरेको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर उनले भने, “हामीले एउटा विशेष कदम अघि बढाएका छौँ ।” संयुक्त वक्तव्यमा प्रधानमन्त्री नेतन्याहु र ग्यान्ट्सले पनि नयाँ सरकार गठनको निम्ति वार्ता गर्ने सहमति भएको जनाएका छन् । उनीहरूका अनुसार दुवै दलका वार्ताकारहरूबीच मङ्गलवार छलफल हुनेछ ।

समाधानको अपेक्षा
यो वर्ष दोस्रो पटक भएको गत साताको निर्वाचनमा कसैको बहुमत नआएपछि त्यहाँ राजनीतिक अन्योल कायम छ । ग्यान्ट्सको गठबन्धनले ३३ र नेतन्याहुको दलले ३१ सीट जितेका छन् । राष्ट्रपतिले दुवै पक्षलाई सरकारमा सहभागी गराउने उपाय सुझाएका छन्।आफ्ना वार्ताकारहरूको छलफलपछि दुवै नेताले फेरि राष्ट्रपतिलाई भेट्ने बताइएको छ । राष्ट्रपतिले एक वर्षमा तेस्रो पटक चुनाव गराउनुपर्ने अवस्था आउन नदिने आफूले सक्ने सबै कुरा गर्ने बताए । उनले दुवै नेतालाई सम्बोधन गर्दै भने, “अहिले तपाईँहरूको पालो छ। अर्को चुनाव रोक्न सरकार निर्माण गर्ने जिम्मेवारी तपाईँहरूमा आएको छ। निजी वा सैद्धान्तिक मूल्यमै किन नहोस्, जनताले तपाईँहरूबाट समाधानको अपेक्षा गरेका छन् ।”

इजरेली अरब सांसदको समर्थन
यसअघि इजरेली अरब सांसदहरूले भूतपूर्व सेनाप्रमुख ग्यान्ट्सलाई प्रधानमन्त्रीमा सिफारिस गरेका थिए । उनीहरूले नेतन्याहुलाई शक्तिबाट हटाउन चाहेको बताएका छन् । इजरेलमा नयाँ प्रधानमन्त्री अझै अनिश्चित इजरेलको निर्वाचनमा कुनै दल स्पष्ट विजेता नहुने सङ्केत
प्रधानमन्त्री नियुक्तिबारे अरब राजनीतिक समूहले सिफारिस गरेको सन् १९९२ यता पहिलो पटक हो। इजरेली अरब सांसदहरूको गठबन्धन जोइन्ट लिस्टका नेता ऐमन ओदेहले नेतन्याहुलाई रोक्ने आफ्नो गठबन्धनको प्राथमिकता रहेको कुरा राष्ट्रपतिलाई बताएका छन्।

उनीहरूको गठबन्धनले १३ सीट जितेको छ। उसले साथ दियो भने पनि ग्यान्ट्सको गठबन्धनको पक्षमा बहुमत पुग्नेछैन । एक सय २० सदस्यीय संसद्‌मा बहुमत पुग्न ६१ सांसदको समर्थन चाहिन्छ । एप्रिलमा सम्पन्न निर्वाचनमा पनि कसैको बहुमत पुगेको थिएन। संयुक्त सरकार बनाउने प्रयास विफल भएपछि गत हप्ता पुन: निर्वाचन गरिएको थियो । BBC

Leave a Comment