![]()
Peoples News पोखरा — चीनबाट फर्किएको तीन दिनमै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी दक्षिण कोरिया उडे । जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को कार्बन व्यापारसम्बन्धी कार्यक्रममा भाग लिन उनी गत मंगलबार कोरिया गएका हुन् । भदौमा मात्रै यो उनको दोस्रो विदेश भ्रमण हो । निर्वाचित भएर कार्यभार सम्हालेयता दुई वर्षको अवधिमा उनी कोरिया दोस्रोपल्ट गए, विदेश १२ औंपल्ट ।प्रमुख जीसीको विदेश यात्राको शृंखला २०७४ भदौबाट सुरु भएको हो । दक्षिण कोरियामै उनले एसिया प्यासिफिक सिटी समिटमा चार दिन बिताए । गत कात्तिकमा श्रीलंका, पुसमा चीन, चैतमा ताइवान, २०७५ को जेठमा चीन, भदौमा पुनः चीन, साउनमा जापान, असोजमा युरोप र फागुनमा बेलायत पुगे । गत जेठमा उनी भारत घुमे । भदौको ३ देखि १० दिन पुनः चीन गएर फर्किए । कोरियाबाट एक सातापछिसोमबार उनी स्वदेश फर्कने छन् ।
यसपल्टको दक्षिण कोरिया भ्रमण भने फलदायी हुने उनको दाबी छ । ‘पहिला पहिला भात खान मात्रै गइयो,’ कोरिया प्रस्थानअघि उनले भनेका थिए, ‘यसपालि पोखरालाई राम्रै लाभ हुन्छ ।’ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले पोखराको सहरी यातायात गुरुयोजना निर्माणमा सहयोग गर्ने भएको उनले बताए । उक्त सम्बन्धमा कोइकाकाप्रतिनिधिसँग भेटघाटको कार्यक्रम छ । उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यवाहक दिएकाले आफू बाहिर रहँदा महानगरपालिकाको दैनिक कामकाजमा अप्ठेरो नहुने दाबी उनको छ । ‘वडालाई अधिकार दिएको छ, योजना सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘केही दिन मेयर हुनु र नहुनुमा तात्विक भिन्नता आउँदैन ।’ भ्रमणको सबै खर्च आयोजकले नै बेहोर्ने गरेको उनले बताए ।
राजनीतिशास्त्रका उपप्राध्यापक कपिलमणि दाहाल जनप्रतिनिधि विदेश भ्रमणबाट के–के उपलब्धि भए भन्ने जानकारी जनताले पाउनुपर्ने बताउँछन् । उपलब्धिका बारेमा नबताई दैनिक कामकाजमा समस्या नहुने भन्दैमा उम्किन नमिल्ने उनको तर्क छ । ‘घुम्नका लागि मात्रै जानु गलत हो,’ उनी भन्छन्, ‘यो–यो उपलब्धि भयो भनेर स्पष्ट पार्नुपर्छ, होइन भने त्यसले सुशासनमा टेवा पुर्याउँदैन ।’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ । मन्त्रालयका अनुसार स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पुर्याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृति दिने गरेको छ ।
गाउँपालिका अध्यक्ष ५० दिन चीनमा