नेपालको हुनै नसक्ने ठाउँमा अत्यधिक प्रदुषित मौसम बिज्ञ चिन्तीत

Loading

People’s News काठमाडौं : वातावरण विभागको तथ्यांकले सोमबार र मंगलबार इलाम सबैभन्दा प्रदूषित देखायो । चौबिस घण्टाको विवरणमा सोमबार इलामको हावाको गुणस्तर (१८६ एक्यूआई ) पुगेको थियो । मंगलबार पनि १७५ थियो । विज्ञहरू यसलाई अत्यन्त नाजुक अवस्था मान्छन् । घण्टागत हिसाबले पनि इलामको एक्यूआई १७७ थियो । इलामपछि सुर्खेतको एक्यूआई १६२, रत्नपार्क र दागंको १५८ थियो । इलाम जस्तो पहाडी इलाकासमेत कसरी अत्यधिक प्रदूषित बन्यो ? वातावरण विभागका महानिर्देशकले इलाममा प्रदूषणको तह एकदमै नराम्रो अवस्थामा देखिएको भए पनि प्रदूषणको स्रोत हेर्न बाँकी रहेको जनाए । सुवेदीले भने ‘हामीले इन्भेन्टरी बनाएको छैनौं । प्रदूषण कहाँ, केबाट निस्कियो भनेर हेर्न बाँकी छ । विभागको तथ्यांकले सोमबार र मंगलबार इलामको हावाको अवस्था अत्यन्त नराम्रो देखाएको अवगत रहेको जनाए । 

सुवेदी भन्छन्, ‘अब प्रदूषण बढ्ने बेला हो । लामो समयदेखि पानी पर्न सकेको छैन । आगलागी र डढेलोको सिजन पनि सुरु भयो । अब त महिनौंसम्म प्रदूषण रहिरहन्छ । तापक्रम कम हुँदा, हावाको गति नहुँदा र वर्षा नहुँदा झनै प्रदूषण बढेको हो । आन्तरिक प्रदूषणका साथै बाहिरबाट पनि थपिने हुन्छ । इलामतिर यति धेरै प्रदूषण बढनु क्रसबोर्डर इस्यु हुनसक्छ । त्यतातिर प्रदूषण बढ्नु भनेको क्षेत्रीय समस्या हो,’ उनले भने, ‘त्यता भारतको दक्षिण बोर्डरको प्रभाव छ । नजिकको प्रदूषित सहरबाट यहाँसम्म प्रदूषण आएको हुन सक्छ । 

सुवेदीले थपे, उद्योग तथा खेतीजन्य फोहोर जलाउँदा पनि प्रदूषणको समस्या हुने गर्छ । त्यहाँको प्रदूषण काठमाडौंसम्मै पुग्छ । भौगोलिक दूरी पनि नजिक भएकाले इलाममा झनै प्रदूषण बढेको हुन सक्छ । वायु प्रदूषणविज्ञ भूपेन्द्र दास प्रदूषणको कुनै सिमाना नहुने बताउँछन । हावाको माध्यमबाट प्रदूषण जता पनि फैलिन सक्छ । इलाममा हाल देखिएको प्रदूषण क्रसबोर्डर समस्या पनि हुन सक्ने बताए । हाल देखिएको एयर क्वालिटी इन्डेक्स (एक्यूआइर्) अत्यन्त खराब अवस्थामा पुगेको दासले जनाए । सरकारको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रति घनमिटर ४० माइक्रोग्राम हुनुपर्छ । 

तर, नेपालका सहरहरूमा सय भन्दा माथि नै देखिन्छ । दासका अनुसार आन्तरिक स्रोतबाट निस्किएको प्रदूषणमा अरू पनि थप भएको हुनसक्छ । खेतीबालीबाट निस्केको अवशेष जलाउने, खेती सप्रिन्छ भनेर आगो लगाउने तथा घरायसी प्रयोजनका फोहोर जलाउने गर्दा धेरै प्रदूषण बढिरहेको छ । उनले भने, ‘विगतका तथ्यांकहरू हेर्दा पनि फेब्रुअरीदेखि अप्रिलसम्म अत्यधिक डढेलो लाग्ने भएकाले त्यसैबाट प्रदूषण निस्कने गर्छ । तर, नेपालमा मनसुन सिजनबाहेक सधैंभरि वायु प्रदूषणको समस्या रहिरहन्छ । 

तर, इलाम नगरपालिकाका प्रमुख केदार थापाले स्थानीय रूपमा हेर्दा प्रदूषण बढ्ने कुनै क्रियाकलाप नभएको प्रतिक्रिया दिए । सडक निर्माण भइरहेको भए पनि अत्यधिक प्रदूषण निस्किने कुनै पनि काम नभएको बताए । नगरपालिकाले पहिलादेखि नै फोहोर जलाउने काममा निरुत्साहित गर्दै आएको र यतिबेला चिया फ्याक्ट्रीहरू पनि बन्दै रहेको जानकारी दिए । त्यसैले पनि अन्तैबाट प्रदूषण आएको हुन सक्छ । थापाका अनुसार विभागले स्थापना गरेको प्रदूषण नाप्ने स्टेसन सदरमुकामबाट करिब ३० किलोमिटर पर इलाम र पाँचथरको सिमानामा रहेको बताए । उक्त स्थान उच्च रहेकाले प्रदूषण हुनु नपर्ने बताए 

Leave a Comment