राजनीतिक दलको स्वार्थले देश गृहयुद्धको संघारमा

Loading

People’s News : सत्ता, अहंकार र षड्यन्त्रको खेलमा जनता बलिदान बन्दै // काठमाडौं // देश आज फेरि एकपटक खतरनाक मोडमा उभिएको छ । राजनीतिक दलहरूको सत्ता–लोभ, आपसी घृणा र गैरजिम्मेवार व्यवहारले राष्ट्रलाई गृहयुद्धतर्फ धकेलिरहेको गम्भीर संकेत देखिन थालेका छन् । इतिहासले घाउ दिएको देशलाई निको पार्नुको सट्टा, दलहरू फेरि आगोमा घ्यू हाल्ने काममा लागेका छन् ।

दलहरू जनताको आवाज सुन्ने भन्दा सडक, सदन र सत्तामा शक्ति प्रदर्शनको होडमा छन् । एक–अर्कालाई सखाप पार्ने रणनीतिमा लाग्दा देशको सामाजिक सद्भाव चिराचिरा भएको छ । भाषणमा लोकतन्त्र, व्यवहारमा अधिनायकवाद यही दोहोरो चरित्रले राजनीतिक अस्थिरता गहिरिँदै गएको छ ।

सत्ता बचाउने नाममा द्वन्द्वको बीउ राजनीतिक दलहरू समस्याको समाधान खोज्नुको सट्टा, द्वन्द्वलाई राजनीतिक हतियार बनाइरहेका छन् । जातीय, क्षेत्रीय र वैचारिक विभाजनलाई उचालेर समर्थक भिडाउने प्रवृत्तिले समाजलाई ध्रुवीकृत बनाएको छ । यही क्रम जारी रहे, हिंसा र प्रतिहिंसाको चक्र सुरु हुन समय लाग्दैन ।

जनता बन्धक, युवा मोहरा : सबैभन्दा ठूलो पीडा जनताले भोगिरहेका छन् । महँगी, बेरोजगारी र अन्यायको चापमा रहेका नागरिक राजनीतिक खेलका बन्धक बनेका छन् । परिवर्तनको सपना बोकेका युवाहरूलाई दलहरूले ढाल र मोहराका रूपमा प्रयोग गरिरहेका छन्  / जब कि निर्णायक तहमा उही पुराना अनुहारहरूको पकड छ ।

इतिहासबाट पाठ नलिए भविष्य अन्धकार : देशले एकपटक गृहयुद्धको भयावह मूल्य चुकाइसकेको छ । तर आजका राजनीतिक दलहरू इतिहासबाट पाठ सिक्न असफल देखिन्छन् । यदि सत्ता–स्वार्थ, अहंकार र षड्यन्त्रको राजनीतिलाई समयमै रोकिनेन भने, देश फेरि रक्तपाततर्फ धकेलिने खतरा नकार्न सकिँदैन ।

अब जिम्मेवारी कसले लिने ? : राजनीतिक दलहरूले आत्मसमिक्षा नगरेसम्म, लोकतन्त्र केवल नारामा सीमित रहनेछ । देशलाई गृहयुद्धबाट जोगाउने हो भने संवाद, जिम्मेवारी र जनउत्तरदायी राजनीति आजको अनिवार्य आवश्यकता हो । इतिहासले कठोर प्रश्न सोध्नेछ देश डुब्दा सत्ता खेलिरहने दोषी को थिए ? 

Leave a Comment