वीरगन्जमा हैजा नियन्त्रण भन्दा बाहिर

People’s News वीरगन्ज : दूषित पानी पिएका १ सय २९ भन्दा बढी पर्साबासी अस्पतालको शय्यामा छन् । आइतबार र सोमबार विद्यालय बन्द गरिएको छ । प्रकोपको रूप लिएको झाडापखाला एवं हैजा नियन्त्रणको चुनौती देखिएको छ । सयौं बिरामी भर्ना भएपछि बल्ल विभिन्न वडाका धाराको पानीको नमुना संकलन गरिएको छ । जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा कोलिफर्मको परीक्षण हुँदै छ । जनस्वास्थ्यविज्ञहरू हैजाको प्रकोप निम्तिए पछि पानी परीक्षण गर्नुलाई सरकारी अक्षमताको संज्ञा दिन्छन् । ‘हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको पानीको आपूर्ति नै हो । सरकारले समयमै सजगता नअपनाएकै कारण हैजा महामारी (मेजर आउटब्रेक) देखियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी प्रश्न गर्छन्, ‘धमिलो पानी थाहा पाउँदा–पाउँदै पिउनु नागरिकको लापरबाही हो ।

क्लोरिन नहालिएको खानेपानी किन सर्वसाधारणको घर—घरका धारामा वितरण गरियो ? हैजाका जीवाणु संक्रमित खाना र पानीको सेवनले हैजा लाग्छ । सरसफाइको कमी, धमिलो खानेपानी पिउँदा हैजा छिटो फैलने जनस्वास्थ्यविद्हरू बताउँछन् । हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला हो । संक्रमण भएको १ दिनभन्दा कमदेखि ५ दिन सम्ममा हैजाका लक्षणहरू देखा पर्न सक्छन । सङ्क्रमितमध्ये करिब १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखा पर्छ ।संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य खालका लक्षणहरू देखा पर्छन् भने करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखा पर्छन् । डा. मरासिनी भन्छन्, ‘समयमै उपचार नभएमा संक्रमितको केही घण्टा मै मृत्युसमेत हुन सक्छ ।’ हैजासँग मिल्दोजुल्दो लक्षण भएका दुई जनाको ज्यान गएको छ ।

शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको छ । पछिल्लो १० वर्षमा वीरगन्जमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्थानीय र प्रदेश तहमा नियन्त्रणका लागि समन्वय भइरहेको बताउँछन् । ‘भर्चुअल मिटिङ गरेर छलफल र सुझाव दिएका छौं । गाइड गरेका छौं,’ डा. बुढाथोकीले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकोको टोली सोमबार वीरगन्ज परिचालित भएको छ । 

बेड थप्दै उपचार गर्दै : संक्रमितको संख्या बढेका कारण नारायणि अस्पतालमा नयाँ वार्ड खडा गरिएको छ । २२ वटा नयाँ बेड थप गरिएका छन्  । स्थानीय तह र प्रदेश तहबाट उपचार व्यवस्थापनमा सक्रियता अपनाइएको छ  । नारायणी अस्पतालका स्वास्थ्यकर्मीका साथै बीएस्सी नर्सिङ अध्ययनरत विद्यार्थीलाई पनि परिचालन गरिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार, प्रदेशबाट सोमबार थप स्वास्थ्यकर्मीको टोली परिचालित हुँदैछ  । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आवश्यक परेको अवस्थामा जनशक्ति परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ  । गृह मन्त्रालयमार्फत सुरक्षा टोली पनि तयारी अवस्थामा राखिएको छ  ।

 

स्वास्थ्यमन्त्री पौडेलका अनुसार, नारायणी अस्पतालमा उपचाररत हैजाका विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिइएको छ  । नारायणी अस्पतालमा भर्ना भएका ७३ जनामध्ये २५ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । करिब ८० प्रतिशत हैजाका बिरामीलाई पुनर्जलीय झोल दिएर जटिलतालाई न्यूनीकरण गर्न सकिने जनस्वास्थ्यविज्ञहरू बताउँछन्  । उचित तरिकाले उपचार गरेमा हैजाबाट हुने मृत्युलाई घटाउन सकिन्छ  । सरकारले नीजि अस्पतालसँग समेत समन्वय भइरहेको मन्त्री पौडेलले बताए  । 

कहाँ चुक्यो सरकार ? : हैजाको आशंका गरिएका तीन जनाको बिरामीको मृत्यु भएको छ । उनीहरूको मृत्यु हैजाकै कारण भएको पुष्टि हुन बाँकी रहेको बताइएको छ । सुक्खाग्रस्त पर्सामा एक साताअघि पानी परेपछि वीरगन्जमा पानीका स्रोतहरू दूषित थिए । दूषित पानी पिएकै कारण हैजा फैलिएको जनस्वास्थ्य विशेषज्ञहरूको आंकलन छ । खानेपानी मन्त्रालयको समयमै सजगता अपनाउन नसक्दा सयौंजना हैजा संक्रमित हुन पुगेका हुन्  । खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समन्वय र सहकार्यको कमी हुँदा हैजाले अहिले प्रकोपको रूप लिएको विज्ञहरूको भनाइ छ  । वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा. मरासिनीका अनुसार, सरकारले पानी संकलित रिजर्व वायरमा क्वोरिन वा पियुस हालेर शुद्धीकरण गर्नुपर्छ  । जनचेतना फैलाउँदै घरघरमा क्लोरिन वितरण गर्नुपर्छ । स्वास्थ्यमन्त्री पौडेल भन्छन्, ‘तीन जनाको निधन हुनु दुःखद छ  । अब हामी बिरामीको उपचारलाई सहज र व्यवस्थित बनाउनमै ध्यान केन्द्रीत गरेका छौं  । 

थप २९ जनामा हैजा संक्रमण, नियन्त्रणमा जुटे तीनै तहका सरकार : वीरगन्जमा ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ  । आइतबार बेलुकीसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए  । शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएको थियो  । स्वास्थ्य शाखाका नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि अर्थो ट्रामा सेन्टरमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा संक्रमण पुष्टिएको हो  । संक्रमण पुष्टि भएका सबै बिरामी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ८, ११, १२, १३ ,१४ र १६ का बासिन्दा रहेको पनि ठाकुरले बताए  । 

यस्तै वीरगन्जका अस्पतालहरूमा झाडापखाला र शंकास्पद हैजाका बिरामी गरी १ सय ६१ जना उपचाररत रहेको जानकारी पनि उनले गराए  । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरू थपिने क्रम जारी रहेको उनले बताए   । वीरगन्जमा फैलिएको हैजा (कोलेरा) को महामारी रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकार जुटेका छन्  । हैजाका बिरामीहरू भेटिएका टोलबाट संकलन गरिएको खानेपानीको नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा शनिबार पठाइएको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए  ।

प्रभावित क्षेत्रका घरहरूमा आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान र डिप बोरिङको धाराबाट पानीको नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए । काठमाडौंको प्रयोगशालबाट त्यसको रिपोर्ट सोमबार आउने सम्भावना रहेको स्वास्थ्य कार्याय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए  । यसैगरी खानेपानी संस्थान र डिप बोरिङका पाइपहरू नालाबाट झिकेर त्यसको व्यवस्थापनको काम पनि आइतबारदेखि सुरु गरिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए । सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर १२ मा आइतबार त्यो काम गरिएको र सोमबारदेखि अन्य वडाहरूमा पनि त्यसलाई निरन्तरता दिइने उनले बताए  । यसका अतिरिक्त प्रभावित क्षेत्रहरूमा जनचेतना फैलाउन महानगरले २६ वटा टोली गठन गरेर परिचालन गरेको उनले जानकारी दिए  । जसमा महानगरका स्वास्थ्यकर्मी, वीरगन्जका नर्सिङ कलेजका छात्राहरू सहभागी छन्  । उनीहरूले प्रभावित क्षेत्रका हरेक घरधुरीमै पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, सम्भावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइसम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको कर्णले जानकारी गराए  । 

यस्तै, संघ सरकारको खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आएको प्राविधिक सहितको टोलीले पनि वीरगन्जका विभिन्न वडामा पुगेर परीक्षणका लागि खानेपानीको नमूना संकलन गरिरहेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए  । प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका आवश्यक सामग्रीहरूसहितको टोली वीरगन्ज पठाइएको श्रेष्ठले जानकारी दिए  । संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट विज्ञ दुई जना चिकित्सकको टोली वीरगन्ज पठाएको छ । उक्त टोलीले झाडापखाला र हैजाका बिरामीहरू उपचाररत अस्पताल र प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरिरहेको छ ।

यसैगरी मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरेका हुन् ।आइतबार वीरगन्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकमा सहभागी भएको प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघनप्रसाद सिंहले हैजाको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए ।स्वास्थ्य महाशाखाको आपुर्ति प्रमुख डा. विपनकुमार झा नेतृत्वको छुट्टै टोली पनि वीरगन्जमा परिचालन गरिसकिएको उनले बताए । 

मन्त्री यादवले भने, ‘वीरगन्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं । बिरामीको उपचारमा कुनै पनि कमी वा लापरवाही हुन दिँदै नौं । यसका लागि औषधि, उपकरण, जनशक्ति जे–जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’

उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना परामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाइसकेको उनले बताए । प्रदेश सरकारको स्वाास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसँगै बिरामीको उपचारका लागि आवश्यकताअनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जाने पनि उनले बताए । 

पर्साका १४ वटै पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय पर्साका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारी रोकथाम र नियन्त्रणका लागि ७ वटा निर्णयहरू गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले जानकारी दिए । उनका अनुसार, बैठकले झाडापखाला र हैजा रोकथामका लागि प्रभावित क्षेत्रमा माइकिङ, घरदैलो एवं सचेतना जागरणका अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ । 

उपचारका लागि अस्पतालमा पुग्ने बिरामीहरूलाई जिल्लामा सबै अस्पतालहरूले पहिलो प्राथमिकतामा राखी समयमै उपचारको व्यवस्था मिलाउने, संक्रमण बढेको अवस्थामा उपचारका लागि अस्पतालहरूले ‘डेडिकेटेड बेड’ छुट्ट्याउन र थप जनशक्तिको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि बैठकले गरेको जानकारी कार्कीले गराए ।

<

p style=”text-align: justify;”>महामारी नसकिदासम्म स्वास्थ्य कर्मचारीहरूलाई अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने र औषधि, किट, खानेपानी निर्मलिकरणका लागि आवश्यक औषधिको पर्याप्ता सुनिश्चित गर्न स्वास्थ्य कार्यालयले आवश्यक पहल गर्ने र त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णयपनि भएको उनले बताए । 

पिपुल्स न्युज

Leave a Reply