Peoples News : काठमाडौं, २१ साउन । प्रहरी कारवाहीमा एकजना मारिएपछि सप्तरीमा प्रदर्शन शुरु भएको छ । सप्तरी प्रहरीले मदिरा तस्करी गरेको आरोपमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । राजगढ– २ कमलपुरका लालु यादवको गएराति प्रहरीको गोलीबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । भनिन्छ भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठूलो मात्रामा मदिरा भण्डारगरी तस्करी भइरहेको सूचनाका अधारमा सर्च अप्रेसन चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुांमुढागर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतको भनाई छ ।
सोहीक्रममा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेर खेतमा फालेको राजगढ–१ का दीपेन्द्र यादवले आरोप लगाउनुभएको छ । उहाँले प्रहरीले पहिला मृतक लालुलाई बोलायो अनि घर सर्चगर्ने बेला सामान्य विवादहुँदा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको हो, दोहोरो झडप भएको थिएन भन्नुभएको छ । त्यसैगरी प्रदर्शनमा सहभागी मृतकका ज्वाइँ ई संजीवनारायण यादवले बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मृतक यादव लाइसेन्स लिएर व्यापारगर्दै आएकोमा निहत्थालाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आरोप लगाउनु भएको छ ।