![]()
कतिपयका बुझाइमा मस्कको व्यवसाय अहिले देखिएको भन्दा पनि ठूलो समस्यामा छ । मस्कले ट्रम्प प्रशासनमा निर्वाह गरेको विवादास्पद भूमिकाले व्यवसायलाई अन्त्यको बाटोमा लगेको उनीहरू बताउँछन् । अनुभवी प्रविधि पत्रकार कारा स्विशर टेस्लाका हकमा ठिक त्यस्तै भएको बताउँछिन् । “टेस्ला सकिइसक्यो,” उनले भनिन्। “त्यो एउटा भव्य कम्पनी थियो । स्वचालित ट्याक्सीको क्षेत्रमा तिनले प्रतिस्पर्धा गर्न सक्थे तर अहिले धेरै पछि परिसके । टेस्लाले लामो समयदेखि गुगलको मातृ कम्पनी अल्फाबेटले चलाएको वाइमोसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ । वाइमोका चालकरहित ट्याक्सीहरू सान फ्रान्सिस्कोमा केही वर्षदेखि सञ्चालनमा थिए । अहिले ती ट्याक्सीहरू अरू सहरहरूमा पनि विस्तार भइरहेका छन् ।
यस महिना मस्कको टेस्लाका पहिलो चरणका स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा सुरु गर्ने तयारी छ । मस्कले गत साता टेस्लाका मोडल वाई कारहरु चालकबिनै सञ्चालनको परीक्षण भएरहेको बताएका थिए । “टेस्लाका भविष्यका ९० प्रतिशत उत्पादनहरू चालकरहित वा रोबोटमा आधारित हुन्छन्,” वेडबुस सेक्युरिटिजका विश्लेषक डान इभ्स भन्छन् । तर मस्कको ध्यान बाँडिएका कारण यो परियोजनाको सफलताको सम्भावना पछि धकेलिएको छ । सिलिकन भ्यालीमा भइरहेका पछिल्ला छलफलहरू मस्कले आफ्नो अनुकूलतामा व्यवसाय ल्याउन सक्छन् कि सक्दैनन् भन्दा पनि उनको ध्यान त्यसमा छ कि छैन भन्नेमा केन्द्रित देखिन्छन् ।
उनी यदि केही कुरामा ध्यान दिएर लागे भने साँच्चिकै शक्तिशाली व्यक्ति छन्,” कावासाकी वेल्थ एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोस गर्बर भन्छन् । यसअघि उनले विद्युतीय सवारी बनाउन सक्छन् भनेर विश्वसामु प्रमाणित गर्नुपर्ने अवस्था थियो । त्यसपछि उनले रकेट बनाउँछन् भन्ने कुरा । उनले कैयौँ कुरा प्रमाणित गर्नु थियो,” उनी भन्छन् । लामो समयदेखि टेस्लाका लगानीकर्ता गर्बरको पुँजी टेस्लाको शेअर मूल्यसँगै घट्दो छ । मस्क राजनीतिमा लागेपछि उनले आफ्नो लगानी अझै बढाएका थिए। बिहीवारलाई उनले निकै पीडादायी दिन भने । अमेरिकाका राष्ट्रपति भन्दा आफूसँग बढी शक्ति छ भनेर सोच्नु सबैभन्दा मूर्ख काम हो,” ट्रम्पसँग मस्कको सामाजिक सञ्जाल टिप्पणीबारे गर्बर भन्छन् । मस्कको प्रतिक्रियाका लागि एक्स, टेस्ला र स्पेस एक्ससँग सम्पर्क गरे तापनि कुनै जबाफ प्राप्त भएन ।
टेस्लाको सङ्कट
मस्कका लागि एउटा प्रमुख समस्या चाहिँ के छ भने ट्रम्पसँग उनको देखिनेगरी शत्रुता बढ्नु अगाडी नै आम मानिसहरूमा उनको कार कम्पनी बहिस्कारको अभियान सामाजिक सञ्जालमा सुरु भयो । ट्रम्पको पद बहालीसँगै सामाजिक सञ्जालमा ‘टेस्ला टेकडाउन’ अभियान कैयौँ सहरहरूमा देखिए । एप्रिलको विवरण अनुसार यस वर्षका पहिलो तीन महिनामा टेस्लाका कारहरूको बिक्री २० प्रतिशतले घटेको छ । त्यसैगरी टेस्लाको नाफा ७० प्रतिशतले घट्दा शेअर मूल्यमा पनि ठूलो गिरावट देखियो । उनले सरकारी निकायलाई टुक्र्याएर हाम्रो प्रजातन्त्रको भविष्यबारे निर्णय लिनु हुँदैन थियो । त्यो सही थिएन,” फेब्रुअरीमा क्यालिफोर्निया स्थित टेस्लाको बिक्री कक्षबाहिर प्रदर्शनमा आएकी लिन्डा कोइस्टिनेनले भनिन् । सामाजिक सञ्जालमा टेस्ला बहिस्कारको अभियान चलाएका जोन डोनोभान आफूहरूको विरोध टेस्लाका विरुद्ध नभएको बताउँछन् । विरोध यसको स्टक कसरी मानिसहरूविरूद्ध हतियारको रूपमा प्रयोग गरियो र यसले मस्कलाई यो हदसम्मको पारदर्शितारहित शक्ति दियो भन्ने हो,” उनी थप्छन् । मानिसहरूमा मस्कप्रति आक्रोशको अर्को कारण ट्विटर भनेर चिनिने सामाजिक सञ्जालमा उनले बढाएको आफ्नो साम्राज्य हो । उनले एकै पटक करोडौँ मानिसहरूसम्म पुग्नका लागि ट्विटर किने,” डोनोभान भन्छन् ।
निजी ब्रान्डको सम्भावना : यति हुँदा हुँदै पनि अर्को सम्भावना जीवितै छ । मस्को ट्रम्पसँगको कटुताले यसअघि ट्रम्पसँगको निकटताका कारण चिढिएका मानिसहरूमाझ उनी फेरी जम्न सक्लान् ? मूर इनसाइट्स एन्ड स्ट्राटेजीका प्रमुख विश्लेषक प्पाट्रिक मूरहेड यस्तो सम्भावना रहेको बताउँछन् । हामी सहजै माफी दिन सक्ने देश हौँ,” मूरहेड भन्छन् । तर यस्तो हुनका लागि समय चाहिँ लाग्छ । स्विशर दुई दशकअघि माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको व्यक्तिगत ब्रान्डसँग मस्कको तुलना गर्छिन् । कुनै समय सिलिकन भ्यालीमा अशिष्ट व्यवहार गर्ने व्यक्तिको छवि बनाएका गेट्सले बिस्तारै आफ्नो छविमा सुधार गरेको उनी सुनाउँछिन् । उनले सिके । मानिस परिवर्तन हुनसक्छ,” स्विशर भन्छिन् ।
ट्रम्पको निर्णयमा मस्कको भविष्य ;
तस्बिर स्रोत,
मस्क र उनका कम्पनीको भविष्य उनले कति ध्यान दिन्छन् भन्नेमा मात्रै सीमित छैन । त्यो कुरा ट्रम्पको निर्णयमा पनि भर पर्छ । ट्रम्पको चुनावी अभियानको खर्च र प्रचार प्रसार दुवैमा सघाएका मस्कलाई अब ट्रम्पले कस्तो व्यवहार गर्छन् भन्ने प्रस्ट छैन । ट्रम्पले मस्कसँग सम्बन्धित कम्पनीका सरकारी सम्झौताहरू कटौती गर्ने सङ्केत गरिसकेका छन् । अहिले मस्कका कम्पनीहरूले सरकारसँग मिलेर ३८ अर्ब अमेरिकी डलर बराबरका परियोजनाहरू सञ्चालन गरिरहेका ठानिएको छ । त्यसको सबैभन्दा ठूलो हिस्सा मस्कको रकेट कम्पनीलाई जान्छ । त्यसको अर्थ ट्रम्पसँगको मनमुटावले स्पेस एक्सको भविष्यमा पनि असर पर्न सक्छ । यद्यपि ट्रम्पको चेतावनी देखावटी मात्रै हुनसक्ने अनुमान पनि गरिएका छन् ।
स्पेस एक्सको ड्रागन अन्तरिक्षयानले अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म मानिस र सामान ओसार्दै आएको छ । अहिले नासाका तीन जना अन्तरिक्षयात्रीहरू यहाँ पुगेका छन् । अमेरिकी अन्तरिक्ष र राष्ट्रिय सुरक्षाका क्षेत्रमा स्पेस एक्सले लिएको स्थान अब ट्रम्पको धम्कीकै कारण हटाउन कठिन छ । त्यस्तै अवस्था मस्कको स्याटलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कको पनि छ । यसको विकल्प भनेजस्तो सजिलो छैन । त्यसकारण ट्रम्प र मस्क दुवैले एक अर्काविरुद्ध चाल्नसक्ने कदमका सीमितता छन् । ट्रम्पसँगको विवादपछि मस्कले ड्रागन अन्तरिक्षयान फिर्ता बोलाउने धम्की दिएका छन् । तर उनी यो विचारबाट पछाडि फर्किइसकेका छन् । उनले सामाजिक सञ्जालमा उक्त यान फिर्ता नबोलाउने बताएका छन् । एउटा कुरा चाहिँ प्रस्ट छ । मस्क र ट्रम्पको मित्रता टुटेको छ । तर उनीहरूको एक अर्कामाथिको परनिर्भरता टुङ्गिएको छ भन्न सकिने अवस्था छैन । अब मस्कका व्यवसायको भविष्य के हुन्छ भन्ने चाहिँ ट्रम्प र उनको प्रशासनले लिने आगामी कदमहरूमा धेरै कुरा भर पर्छन् ।