मल नपाएर किसान समस्यामा सरकार चिर निन्द्रामा

Loading

गहुँ छर्न मल नपाएर किसान समस्यामा

मल नपाएपछि सीमानाकानजिकका किसान सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी मल ल्याउन बाध्य

खेतबारीमा गहुँ छर्ने वेला रासायनिक मल नपाएपछि स्थानीय किसानहरू समस्यामा परेका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा अहिले डिएपी मलको अभाव भएको छ । कतिपय किसान खेतबारी खनजोत गरेर ठिक्क पारे पनि मल पाउने आसमा गहुँ छर्न पर्खिरहेका बताए । गहुँ छर्ने वेला हाल्नुपर्ने डिएपी मलको पर्खाइमा रहेको बताए । गत असोजमा लगेको ९० बोरा डिएपी मल सकिएपछि कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीसँग थप मल माग गरेको उनले बताए । यहाँ मल नपाएपछि सीमा नाकानजिकका किसान सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी मल ल्याउने गरेका छन् । सीमावर्ती कैलारी गाउँपालिकाको हसुलियाका एक किसानले भारतबाट दुई बोरा मल ल्याएर तोरी छरेको बताए । ‘गाउँको सहकारी धाउँदा मल पाइएन । पारिबाट ल्याएर तोरी छरेँ,’ उनले भने । सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक नवलसिंह बोगटीले गहुँ छर्ने वेला आवश्यक पर्ने डिएपी मल मागअनुसार वितरण गर्न नसकिएको बताए । हिउँदे बालीका लागि यहाँ करिब सात हजार मेट्रिकटन डिएपी मल आवश्यक पर्ने कार्यालयको अनुमान छ । कार्यालयले साउनयता तीन हजार दुई सय ३४ मेट्रिकटन डिएपी मात्र बिक्री गरेको छ ।

हाल एक सय १९ मेट्रिकटन डिएपी मौज्दात रहेकोमा त्यसले माग धान्न नसक्ने बोगटीको भनाइ छ । विक्रेताहरूले आवश्यकताअनुसार मल नपाएको गुनासो गरिरहेको उनले स्वीकार गरे । कृषि सामग्रीले कैलालीमा चार सय १२ सहकारी तथा एग्रोभेटमार्फत मल बिक्री गर्दै आएको छ ।

‘अहिले साल्ट टे«डिङमा पनि मल छैन । तर, साउनयता साल्ट टे«डिङले पनि केही मात्रामा मल बिक्री गरेकाले अहिले करिब ८० प्रतिशत किसानले डिएपी मल पाएको अनुमान छ,’ कृषि सामग्रीका प्रदेश प्रबन्धक बोगटीले भने । अब थप मल यो महिनाको अन्त्यतिर आउने उनले बताए । त्यतिवेलासम्म किसानले गहुँ छरिसक्नुपर्छ ।

युरियाको भने तत्काल अभाव नरहेको कृषि सामग्रीले जनाएको छ । कृषि सामग्रीसँग अहिले एक हजार आठ सय ७३ मेट्रिकटन युरिया मौज्दात छ । कृषि ज्ञानकेन्द्रका अनुसार कैलालीमा करिब ३५ हजार हेक्टरमा गहँु खेती हुने गरेको छ ।

Leave a Comment