![]()
Peoples News : सामान्य अवस्थामा असोज १६ गते अर्थात् अबको एक साताभित्रै नेपालबाट मनसुन बाहिरिइ सक्नुपर्छ । तर मौसविद्हरूले आगामी केही दिन देशभरि “उल्लेख्य वर्षा हुने” बताएका छन् । बिहीवारदेखि आइतवारसम्म देशका धेरैजसो भागमा ‘हल्का’देखि ‘अति भारी वर्षा’सम्म हुने देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सजग रहन चेतावनी जारी गरेको छ । विभागकी मौसमविद् विनु महर्जनले अहिले उत्पन्न मनसुनी प्रणालीको असर नेपालका सातवटै प्रदेशमा पर्ने बताइन् । खास गरी पूर्वी भागमा, शुक्रवार पूर्वी तथा मध्यनेपालमा हुँदै आइतवारसम्म पश्चिम नेपालतर्फ सर्दै उल्लेख्य वर्षा हुने देखिन्छ । त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख प्राध्यापक दीपक अर्यालले मनसुन सकिने बेलातिर भए पनि यतिखेर “ठूलो मौसमी प्रणाली” उत्पन्न भएको बताए । तर विगतका वर्षमा पनि मनसुनको अन्त्यतिर यस्तो भएको छ । यो अस्वाभाविक होइन । चार दिन मनसुन सक्रिय हुन्छ । अनि अक्टोबरतिर ४ (असोज १८ गते) बाट यो बाहिरिन थाल्ने देखिन्छ । यसपालि आगामी साता बिहीवारका दिन नवरात्र सुरु हुन्छ ।

रात्रीबस नचलाउन आग्रह : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खास गरी हिमाली तथा पहाडी जिल्लामा शुक्रवार र शनिवार रात्रिकालीन बसहरू नचलाउन आग्रह गरेको छ । जोखिममा रहेका जिल्लाहरूमा विपद्का घटना बढ्न सक्ने भएकोले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टले सर्वसाधारणदेखि सुरक्षा निकायले चाल्नुपर्ने कदमबारे बिहीवार साँझ विशेष सूचना जारी गरेको छ । त्यसअन्तर्गत रात्रिबस नचलाउनेदेखि तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्नेसम्मका काम छन् । प्राधिकरणले यो अवधिमा धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन भनेको छ । साथै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतल्लामा अन्नपात नराख्न भनिएको छ । प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न र बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न भनेको छ । आइतवारसम्म पर्ने पानीका कारण देशका कुल ७७ मध्ये ५६ जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरूले बताएका छन् ।
५६ जिल्ला ‘रेड अलर्ट’मा सरकारले अब हुने वर्षाका कारण देशका ५६ जिल्ला उच्च जोखिममा रहेको जनाउँदै तिनमा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तो सूचनाको अर्थ त्यहाँ वर्षाजन्य विपद्का कारण प्रतिकार्य आवश्यक पर्ने भन्ने हुने अधिकारीहरू बताउँछन् । बङ्गालको खाडीमा विकसित नयाँ न्यूनचापीय प्रणालीका कारण वर्षा हुन लागेको हो । मनसुन सकिन लागेको बेलामा यस्तो प्रणाली देखिँदा त्यो बाहिरिने दिन केही लम्बिन सक्छ,” मौसमविद् विनु महर्जनले भनिन् ।
प्राध्यापक दीपक अर्याल भने चार दिनपछि वर्षा गराउन सक्ने अर्को प्रणाली सिर्जना हुन सक्ने अवस्था नरहेकाले मौसममा सुधार आउने क्रम सुरु हुने ठान्छन् । यो नियमित मनसुनी प्रणाली नै हो । यसपछि मनसुन बाहिरिन्छ र पानी परिहाले पनि स्थानीय प्रणालीका कारण हुने हुँदा ठूलो पानी पर्दैन,” उनले भने । विभागले केही स्थानमा “भारी” र “अतिभारी” वर्षा हुने पूर्वानुमान गरेको छ । यतिखेर नेपालमाथि न्यूनचापीय प्रणालीको केन्द्र रहेकाले ‘क्लाउडबर्स्ट’ भनिने घनघोर वर्षा हुने सम्भावना समेत रहको प्राध्यापक अर्यालले बताए । चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भन्ने गरिन्छ । एक दिनमै १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ । तर केही घण्टामै उच्च मात्रामा पानी परेमा थोरै पानी पर्दा समेत त्यो जोखिमयुक्त हुन सक्ने विज्ञहरू बताउँछन् । पानीको मात्राअनुसार वर्षालाई पाँच वर्गमा राखिन्छ ।

- अतिभारी वर्षा – २०० मिलिमिटर वा त्योभन्दा बढी
- धेरै भारी वर्षा – १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म
- सामान्य वर्षा – ५० मिलिमिटरदेखि १०० मिटरसम्म
- मध्यम वर्षा – १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म
- हल्का वर्षा – १० मिलिमिटरभन्दा कम
कस्तो असर कतिपय मनसुनी प्रणालीहरू कुनै निश्चित भेगमा मात्र सक्रिय हुन्छन् । तर अहिले चर्चा गरिएको प्रणाली चाहिँ पूर्वदेखि पश्चिमसम्मै सक्रिय रहेको र यो “मुख्य प्रणाली” भएको मौसमविद्हरूले बताए । रेड अलर्ट जारी भएका ठाउँमा बाढीपहिरोको जोखिम उच्च हुने भएकाले सजग रहन आवश्यक छ,” मौसमविद् महर्जनले भनिन् । अतिभारी वर्षा हुन सक्ने भनिएका ठाउँहरू कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मै छन् । सूचनामा खास गरी तराईमा हावाहुरी पनि चल्ने जोखिम रहेको भन्दै अत्यावश्यक नभई लामो यात्रा नगर्न सुझाव दिइएको छ । यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको थियो । मनसुन नसकिँदै अहिलेसम्म सरदरभन्दा बढ्ता अर्थात् झन्डै १०३.९ प्रतिशत वर्षा भइसकेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपालमा मनसुनको अवधिमा यो वर्ष १,४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ। तर विभागको तथ्याङ्कअनुसार असोज ९ गतेसम्म १५३७.३ मिलिमिटर पानी परिसकेको छ । सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रिने र बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुन्छ । यद्यपि केही दिन तलमाथि हुनुलाई असामान्य मानिँदैन । नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३-दिने मनसुन देखा परेको थियो । त्यति बेला जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा मनसुन बाहिरिएको थियो । सबैभन्दा लामो अवधिको मनसुन भने सन् २००८ मा १३० दिनको थियो । त्यो साल मनसुन जुन १० मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको थियो ।
