![]()
सम्बद्ध स्रोतका अनुसार ‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका आइडियल यमुना सहकारी अध्यक्ष केबी उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले यो सहकारीका करिब २ सय बचतकर्ताले झन्डै २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन।
राजनीतिज्ञ भ्रस्ट, चोर, ठग, फटाहा, ब्यापारी, आदि व्यक्तिहरु जुन जुन सहकारीमा आबद्ध छन भए टि सबै सहकारीहरु समस्याग्रस्त भए
२३ चैत, काठमाडौं । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् ।
सम्बद्ध स्रोतका अनुसार ‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले यो सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।
आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए । तर, लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
करिब एक महिनाअघि विभागले तयार पारेको विवरण अनुसार यो सहकारीबाट १ सय ८० बचतकर्ताले १ अर्ब ५० करोड बचत फिर्ता माग्दै विभागमा निवेदन दिइसकेका छन् ।
‘विभागमा दिनदिनै उजुरी आइरहेको छ, पछिल्लो तथ्यांक अपडेट गर्न पाइएको छैन,’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यो रकम २ अर्ब नाघेको अनुमान छ ।’
नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता भएपछि उनलाई उक्त जिम्मेवारीबाट पनि हटाइएको छ ।
उप्रेतीको नेतृत्वमा सहकारी संस्थामा समस्या आएकाले पार्टीको सचिवालयले उनलाई जिम्मेवारीबाट हटाएको नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीले बताए ।
‘प्रारम्भिक संस्थामा समस्या भएका पदाधिकारीले पार्टीमा जिम्मेवारी नपाउने नीति हो । सोहीअनुसार उहाँलाई जिम्मेवारीबाट हटाइएको हो,’ अधिकारीले भने ।
उपचार गर्न भन्दै भारत गए पनि पार्टीले पनि कारबाही गर्ने भएपछि उप्रेती उपचार लम्बिएको भन्दै भारतमै बसेको स्रोतको दाबी छ ।
‘पार्टीले संरक्षण नगर्ने देखिएपछि उनी बेपत्ता भएका हुन्,’ स्रोत भन्छ, ‘केही व्यक्तिसँग सम्पर्कमा रहने र आउँछु, आउँछु भन्दै उतै बस्ने योजना हो ।’
सहकारी पीडित बचतकर्ताहरू पनि उप्रेतीसँग कुनै सम्पर्क नभएको बताउँछन् । उक्त सहकारीका एक पीडित बचतकर्ता कुश कार्की उप्रेतीसँग कुनै सम्पर्क नभएको बताउँछन् ।
सहकारी व्यवस्थापकसँग कुरा गर्दा अध्यक्ष उप्रेती बिरामी भएर उपचार गराइरहेको र उहाँ फर्किपछि बचत फिर्ता हुने भन्दै आश्वासन मात्रै दिने गरेको बताउँछन् ।
अर्का बचतकर्ता ज्ञानेन्द्र बज्राचार्य सहकारी विभागमा उजुरी दिए पनि कुनै कारबाही अगाडि नबढेको र उप्रेतीसँग पनि सम्पर्क नभएको बताउँछन् ।
सहकारीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोपीनाथ घिमिरे भने समस्या समाधानको प्रयास भइरहेको बताउँछन् ।
सहकारीका अन्य सञ्चालकसँग उप्रेतीको सम्पर्क भइरहेको भन्दै अहिले अर्थतन्त्रमा देखिएको शिथिलता पनि सहकारी समस्याको कारण भएको उनी बताउँछन् ।
‘१८/२० करोडको गैरबैंकिङ सम्पत्ति छ । जुन लिलाम हुँदैन,’ उनले भने, ‘२ अर्ब ३० करोड लगानीमा रहेको ऋण छ । ऋण असुलीमा पनि समस्या छ । ४० प्रतिशतभन्दा धेरै बचत कर्मचारी र सञ्चालकको छ । हाम्रो दायित्वभन्दा सम्पत्ति धेरै भएकाले समस्या समाधान गर्छाैं ।’
विभिन्न सहकारी मर्ज गर्दै उप्रेतीले ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालन गर्दै आएका थिए । गत असारमा हाम्रो सगरमाथामा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभाबाट स्वीकृति लिएका थिए ।
संस्थाको एकीकृत नाममा स्वीकृति पाए पनि मर्ज हुँदैदेखि हाम्रो सगरमाथा र नागरिक कल्याण सहकारीमा समस्या भएपछि एकीकृत कारोबार सुरु हुन सकेन ।
८ असोजमा पाँच संस्था मर्जपछिको एकीकृत संस्थाको साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भयो भने सोही सञ्चालक समितिले डिमर्जमा जाने निर्णय समेत गर्दै सहकारी विभागमा निवेदन दिएको छ । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पनि छन् ।
२९ फागुनमा भएको बैंकको सञ्चालक समिति बैंठकमा उप्रेती भर्चुअल माध्यमबाट सहभागी भएको बैंकका अधिकारीहरू बताउँछन् । उप्रेतीले बैंकबाट आफैं अध्यक्ष भएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीलाई करिब ३० करोड ऋण दिलाएका थिए ।
सहकारीले उक्त ऋण तिर्न सकेको छैन । पाँच संस्थाले बैंकबाट लिएको ऋण करिब ६३ करोड रहेको स्रोतको दाबी छ । आइतबार बैंकमा मर्ज भएका सबै संस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त ऋण कसरी तिर्न भन्ने विषयमा छलफल समेत भएको थियो ।
सहकारी क्षेत्रमा उप्रेतीका क्रियाकलापलाई सहकारी विभागले समेत ‘संरक्षण’ गर्दै आएको थियो । बचत फिर्ता नगरेका सहकारीहरूलाई मर्ज गर्ने, नयाँ सेवा केन्द्र खोल्ने लगायत कुनै पनि अनुमति विभागले दिने गरेको थिएन ।
हाम्रो सगरमाथा सहकारीले बचत फिर्ता नगरेको भन्दै सहकारीको डल्लु सेवा केन्द्रका ७२ बचतकर्ताले सहकारी विभागमा उजुरी हालेका थिए ।
तर, त्यो निवेदन विभागमा हुँदाहुँदै विभागले हाम्रो सगरमाथा, आइडियल यमुना, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नेसनल नमोबुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुउद्देश्यीय र घेदुङ बहुउद्देश्यीय सहकारीलाई मर्जरको स्वीकृति दिएको थियो ।
समस्यामा रहेका संस्थाले एकीकृत नाम पाए पनि एकीकृत कारोबार नगर्दै डिमर्जरको निर्णय गरेर विभागमा निवेदन दिएका हुन् ।
मर्जरमा जाँदा विभागमा बचतकताएसँग सहमति गरेर स्वीकृति लिएका उप्रेतीले केही समयअघि अनलाइनखबरलाई बताएका थिए । तर, ७२ जनाको उजुरी परेकोमा ४–५ जनासँग मात्रै सहमति गर्दै मर्जरपछि आइडल यमुनाबाट पैसा ल्याएर समस्या समाधान गर्ने आश्वासन समेत केही बचतकर्तालाई दिएर विभागबाट उप्रेतीले स्वीकृति लिएको एक बचतकर्ताले बताए ।
नागरिक कल्याणका बचकर्ता भने कुन संस्थाविरुद्ध उजुरी दिने भन्ने नै अन्योलमा परेको बताउँछन् । सबै संस्थाका सञ्चालकहरूले आ–आफ्नो संस्थाको बचत फिर्ताको जिम्मेवारी साविककै सञ्चालकले लिने भनेर प्रतिबद्धता व्यक्त गरेकाले पनि मर्जरको स्वीकृति दिएको विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले बताएका थिए ।
मर्ज भएको एकीकृत संस्थाको साधारणसभाबाट डिमर्ज गर्ने निर्णय भएर सहकारी विभागमा पेस भए पनि समस्या समाधान नहुँदासम्म कुनै निर्णय नगर्ने भन्दै सहकारी विभागले रोकेर राखेको थियो ।
समस्या हुँदाहुँदै सर्त राखेर मर्जरको स्वीकृति दिएको सहकारी विभागले डिमर्जको निवेदन आएको ६ महिनासम्म कुनै निर्णय नगरी ६ महिनापछि भने अनुगमनमा पठाउने तयारी गरेको छ ।
सहकारीको कुल बचतमध्ये उप्रेती अध्यक्ष रहेको साविकको हाम्रो सगरमाथा सहकारीको मात्रै २ अर्ब १२ करोड बचत थियो । जसमध्ये सहकारीले बचत दायित्व घटाएर १ अर्ब ७९ करोडमा ल्याएको संस्थाका तत्कालीन सीईहओ घिमिरे बताउँछन् ।
‘अहिले म कुनै जिम्मेवारीमा छैन । मर्जपछि बनेको एकीकृत संस्था सञ्चालकमा मलाई राखिएको छ । तर, डिमर्ज निर्णय गरेर सहकारी विभागमा पेस भएको छ,’ उनले भने, ‘हाम्रो सगरमाथाको कुनै जिम्मेवारीमा नभए पनि समस्या समाधानमा लागिरहेको छु । अब संस्थाको बचत दायित्व १ अर्ब ७९ करोड र सहकारी बैंकको ऋण समेत गरी २ अर्ब दायित्व छ ।’
मर्जपछि सबै सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाले मर्जरको स्वीकृत दिएको सहकारी विभागका तत्कालीन रजिस्ट्रार घिमिरेले बताएका थिए ।
‘साविकको हाम्रो सगरमाथामा समस्या थियो, अरूमा समस्या देखिएको थिएन । समस्या नभएकालाई पनि समाधान गर्ने भनेर नयाँ संस्थाको व्यवस्थापकीय नेतृत्व गरेका आइडियल यमुनाका प्रमुख कोयाङ लामाले प्रतिबद्धता गरेकाले स्वीकृति दिएका हौं,’ घिमिरेले भनेका थिए ।
अहिले पनि सगरमाथा र नागरिक कल्याणको मात्रै सहकारी विभागमा उजुरी आइरहेको विभागका सूचना अधिकारी तथा उप–रजिस्ट्रार टोलराज उपाध्याय बताउँछन् ।
अन्य तीन संस्थाबाट कुनै उजुरी नआएको उनले बताए । सहकारी विभागले मर्जर गरेका संस्थाको निरीक्षण अनुगमन गरेर कारोबार छट्टाछुट्टै भए/नभएको यकिन गरेपछि आवश्यक कारबाहीमा जाने उनले बताए ।