![]()
पिपुल्स न्युज : सहकारी संस्थाको समितिमा बसी रकम हिनामिना गर्ने कोहि पनि आनन्दले बस्न नपाउने भए यसै क्रममा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङका न्यायाधीश भेषराज पौडेलको इजलासले उनलाई ३० लाख धरौटीमा रिहा गरेको हो । घिमिरेलाई सहकारी ठगीको मुख्य दोषी बनाइएको छ ।
तर घिमिरेलाई तत्कालै पुनः पक्राउ गरेर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको छ । डिएसपी मीनबहादुर घलेका अनुसार उनलाई काठमाडौँ पठाइसकिएको छ । ‘उहाँलाई काठमाडौँ लगेर सम्पत्ति शुद्धीकरणमा बुझाएका छौँ,’ उनले भने, ‘बाँकी अनुसन्धान उसैले गर्छ ।
सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएर पनि अझै २५ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले अनुसन्धानमा देखेका समस्या सबै लेखेर बुझायौँ । त्यसका आधारमा अदालतले आदेश दिएको छ,’ उनी भन्छन्, ‘हामीले पक्राउ गरेर बुझाएकाहरू धरौटीमा रिहा भइसक्नुभएको छ ।
बेंसीसहरको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका मृगेन्द्रलाई काठमाडौँबाट पक्राउ गरेर अदालत पेस गरिएको हो । अदालतमा हाजिर भए लगत्तै उनी धरौटीमा रिहा भए ।
६ जनालाई प्रहरीले मङ्सिर १० गते पक्राउ गरेको थियो । पछि पक्राउ पुर्जी जारी भएका २६ जना मध्ये १ जना मङ्सिर १७ गते समातिए । उनीहरु जनही ७ लाख १२ हजार धरौटीमा रिहा भएका छन् ।