![]()
पिपुल्स न्युज भारत : साहरा ग्रूप अफ इन्डियाका अध्यक्ष सुब्रत रोयको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
उनी लामो समयदेखि विरामी थिए । उनलाई आइतबार मात्र कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोे थियो । उनको पार्थिव शरिर अन्तिम संस्कारका लागि लखनउ ल्याउने तयारी भइरहेको छ ।
उनको निधनपछि कम्पनीले जारी गरेको एउटा बयानमा भनिएको छ, ‘साहरा श्री सुब्रत रोयसँग जसले काम गर्ने सौभाग्य पाएका छन् उनीहरुका लागि उनी अभिभावक, प्रशिक्षक तथा प्रेरणाको स्रोत थिए । उनको जन्म सन् १९४८ विहार प्रदेशको अररिया जिल्लामा भएको थियो ।
उनी केहि वर्षदेखि जमानतमा रिहा भएर घरमै बसिरहेका थिए ।पटना उच्च अदालतमा सन् २०१४ देखि साहरा इन्डिया विरुद्ध सर्वसाधारणको रकम भुक्तानी नगरेको भन्दै मुद्दा चलिरहेको छ । सर्वसाधारणले कम्पनीले सञ्चालन गरेको विभिन्न सहकारी योजनामा लगानी गरेका थिए । उनी विरुद्ध यस्तै खालको मुद्दा भारतको सर्वोच्च अदालतमा पनि चलिरहेको छ ।
साहरापछि उनले धेरै क्षेत्रमा ब्यापार विस्तार गरेका थिए । उनको नेतृत्वमा फाइनान्स, रियलस्टेट, मिडिया तथा हस्पिटालिटी, एयरलाइन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिएको छ ।-एजेन्सी