![]()
पिपुल्स न्युज : करीब ४० बर्ष अगाडी छिमेकी रामु काकाको छोरा अमेरिका पढ्न हिंदेको याद छ मलाई । त्यतिखेर म आफु पनि कलेजमा अध्ययनरत भएकोले काकाको छोरा के कसरी पढ्न गएको हो बुझ्न रामु काकाको घरमा चिया खाने निहुं पारि गएको थिएं ।
बाबु! तिम्रो दाई त खै ! जत्ति भने पनि नलागेपछि कस्को के लाग्छ र । तिमीलाई थाहै होला नि हाम्रो हैसियत । गाउंको खेतबारी बेचेर त्यै छोराको भविष्यको लागी भनेर यो सानो घडेरी जोडेको थिएं । मेरो जागीर बाबुलाई थाहै होला नि एउटा मेकानिक्सको कमाई । सकि नसकि काठमाण्डौंको कलेजमा पढाएं । पढाई सकेर राम्रो जागीर खाएर कमाइवरी भविश्यमा हामी बुढाबुढीलाई हेरचाह गर्ला भन्ठानेको । कति सम्झाएं बुझाएं केहि लागेन ।

एक सेमेष्टरको फी, बस्ने खर्च र जाने टीकट मात्र व्यवस्था गरी दिनु ! बांकी उतै कमाएर पढ्ने खाने बस्ने ब्यवस्था मिलाउंछु कुनै टेन्सन नै लिनु पर्दैन । दोश्रो वर्ष देखि बैंकको ऋण लगायत यताको घर खर्च पनि त्यतैवाट कमाएर पठाउंछु भनेर जिद्दी गरे । लौ ! भनेर यहि घर धितो राखेर एउटा बैंकबाट ऋणधन गरी खर्चको व्यवस्था गरिदिएं । बांकी भगवान भरोसा………
त्यसको करीव ५ बर्ष पछि अध्ययनको सिलसिलामा म अमेरिका जांदा एकपटक दशैंको अवसरमा नेपालीहरूको भेटघाट कार्यक्रममा सहभागी हुन पुगें । संजोगबश बिशालदाई (रामु काकाको छोरा) सित उतै भेट भयो ।
त्यति छोटो समयमैं दाईको बिचार र व्यवहारमा आएको परिवर्तन देखेर अचम्मै भएं । काका जागीर बाट रिटाएर्ड भएको र आन्टी बिरामी भएको खवर सुनाउन नपाउंदै बीयरको नसाले हो कि कुन्नी काका काकीको बारे नानाथरी कुरा काट्न शुरू गर्नु भयो ।
“मैले त बुवालाई भनेकै थिएं काठमाण्डौंको घर बेच्नुहोस्, ऋण तिरेर बांकी पैसाले यस्सो सानो फ्ल्याट किनेर बस्नुहोस् । आफ्नो लागी र आमाको औषधिको लागी अलि पैसा बैंकमा व्यालेन्स राखेर बांकी पैसा यता पठाइदिनुहोस् भनेर हजार पटक भनिसकें खै! मरेकाटे मानेकै होइन । आफु यहां Mortgage तिर्दा तिर्दा हालत खराब छ । उता घर आमाको नाममा छ अरे, बेच्ने कुरै गर्सिन्न, बांचुन्जेल कुनै हालतमा नबेच्ने भन्सिन्छ । अब त कुर्दा कुर्दा ठाकीसकें यार !

दुई बर्ष अगाडी काठमाण्डौं गएको बेला कयौं पटक सम्झाउंदा पनि नमानिसेसी हार खाएर फर्कें । बिरामी आमा कोठाबाट निस्कन सक्नु हुन्न त्यै भएर कोठामा सि.सि. क्यामेरा जडान गरेर आएको छुं । उता के कस्तो छ यतै बाट हेर्ने गर्छुं ।
दाईको कुरा सुन्दा सुन्दै मनमा लाग्यो कि सि.सि. क्यामेरा त काका र एन्टीको स्वास्थ्य अवस्था हेर्न त होइन अझै बांचेको छ की मरिसक्यो हेर्नलाई जडान गरेको होला ।
अध्ययन पुरा गरेर म नेपाल फर्कें । फर्केको भोली पल्टै काकालाई भेट्नु पर्ला भनी मनमा राखेर त्यता तिर लागें । काकाको घरको त मुहारै फेरीसकेको रहेछ । घरको मूलढोकामा जडान गरेको घण्टी बजाउंछु त अर्कै व्यक्तिले पो ढोका खोलेर कस्लाई खोज्नु भएको भनेर सोध्नु भयो ।
यो त रामु काकाको घर होइन र ? काका कता हुनुहुन्छ ? भनेर सोधें । लौ यो घर त बैंकले लिलाम गर्ने भएकोले रामुजी संग मैले किनेको १४ महिना भै सक्यो । वहाँ र वहांको बिरामी श्रीमती त अहिले सानेपा तिर एउटा Old Age Nursing Home मा बस्नु हुन्छ । सम्पर्क नम्बर चाहिए लिनुहोस् भनेर एउटा सानो कागजको टुक्रामा फोन नम्बर लेखेर दिनुभयो ।
म सिधै वहांलाई भेट्न निस्कें । व्यवस्थित रूपमा संचालित उक्त Old Age Home मा एउटा सानै भएपनि डवल वेड रूममा काका लाई भेटें । एन्टी त बेडको बेडमै, काका चाहिं हल्का यता उता हिंडडुल गर्न सक्नुहुंदो रहेछ । देख्ने बितिक्कै आंखा भरी आंशु राख्दै काकाले बृत्तान्त सुनाउनु भयो । बिशाल पढ्न गएको बेला लिएको ऋण तिर्न नसकेर बैंकले घर लिलाम गर्न लागेकोले घरै बेचेर ऋण चुक्ता गरी बांकी पैसा बैंकमा राखेर आउने ब्याजले यताको तिर्नुपर्ने खर्च धान्ने भएर यता बस्न आएका छौं । बिशालले खै ! गए देखि पैसाको नाममा सुको पठाएको छैन । अस्ती फोनबाट त्यो बैंकमा राखेको पैसा नमास्नु है, व्याजले मात्र खर्च धान्नु भनेर पो धम्काउंछ । खै! के भनुं आ आफ्नो भाग्य……
यति सुनेर केहि पर्यो भने सम्झनुहोस् है काका भनि सहानुभूति दिंदै फर्कें ।

केहि दिन अगाडी मेरो मोवाइलमा सेभ नभएको नम्वरवाट कल आयो । कस्को होला भनेर उठाएको त त्यै बिशालदाई पो रहेछ । कहाँ हो भाई? काठमाण्डौंमा छुं भेटौं न भनेकोले मैले अफिस मै आउनुहोस् भनें । केहि छिनमै टुप्लुक्क आइपुग्नुभयो । कहिले आउनु भो भनेर सोधेको के थिएं वहांले आफ्नो बेलिबिस्तार सुनाउन शुरू गर्नु भयो ।
“आमाको अवस्था चिन्ताजनक छ र बुवालाई पनि क्रोनिक निमोनिया भएर भेन्टीलेटरमा हालीसक्यो, छिट्टै आउनु पर्यो भनेकोले जम्मा १८ दिनको बिदा मिलाएर आएको । अचम्मै भयो नि, म आएको २ दिनमा बुवाको स्वास्थमा सुधार भएर भेन्टीलेटरबाट निकालेर अहिले फेरी उही Nursing Home मै ल्याएर राखेको छ ।
अनि कति दिन सम्म बस्नु हुन्छ नि काठमाण्डौंमा भनि सोधें ।
“खै! जे कामको लागी आएको हो त्यो काम नै भएन, अव भोली नै फर्कने टिकट मिलाएको छुं । आउंदा भाइलाई यस्सो भेटेर जाउं भनेर भेट्न आएको ।
Oh My God! मन मनै लाग्यो १३ दिनको काम सक्याएर ४ दिनमा बैंकको पैसा ट्रांसफर गरेर फर्कने योजनामा आएको होला । आमा बुवाको स्वास्थ्य लाभ भएपछि दाईलाई भयो टेन्सन….
भोलीपल्ट एरपोर्टबाट कल गरेर बिदा लिएर जानु भयो बिशालदाई । अब साहेद आमा बुवाको मृत्यु भएको confirmed खवर आएपछि मात्रै फर्कने होला । खवर पाएर पनि काममा बिदा मिलाएर नआउंदा सम्म मृत शरीर कति दिनको लागी हो Ice Box मै राखिन्छ होला । समय पनि कस्तो आयो……अब त मृत्यु पछि दाहसंस्कार को लागी पनि कयौं दिन Ice Box मा कुर्नु पर्ने ।
बिचरा रामुकाका…….अनि धन्य छ बिशालदाई…

(यो कहानीका काल्पनिक पात्र तथा घटनाहरू कथंकदाचित कसै संग प्रत्यक्ष तवरमा मेल खाएमा संयोग मात्र हुनेछ ।)
राजेन्द्रराम श्रेष्ठ ज्युको फेसबुक वालबाट साभार गरिएको 