कांग्रेस र एमाले चियापानलेको पार्टीहरूबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ

काठमाडौँ, कार्तिक १५  नेपाली कांग्रेस संस्थापक नेता बीपी कोइरालाले २०३४ मा कोजाग्रत पूर्णिमाका दिन राजनीतिक सन्देशसहित सुरु गरेको चियापानलाई यस वर्षपनि कांग्रेसले निरन्तरता दियो। । कांग्रेस, एमाले, माओवादीलगायत दलले कुनै अवसर पारेर विगतका चियापानमा राजनीतिक सन्देश दिन्थे तर यस वर्ष कांग्रेस र एमालेको चियापान सांस्कृतिक पर्वका रूपमा सीमित रह्यो । दलहरूको स्पष्ट राजनीतिक सन्देश आएन ।

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गरेको चियापान र एमालेले बुधबार केन्द्रीय कार्यालय च्यासलमा चियापानमा  प्रमुख राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिज्ञ, कर्मचारी, सर्वसाधारण तथा कार्यकर्ताको सहभागिता थियो।

बुधबारको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायका सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको सन्देश दिए । ‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ, यो विषय छिट्टै टुंगिन्छ । हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं,’ उनले भने, ‘अस्ति कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरूबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्ने’ बताए । ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ उनको भनाइ थियो ।

चियापानमा सहभागी हुनुअघि बुधबार बिहान प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी छलफल भएको थियो । दाहालले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा सहमतिबारे खुलाएनन् । चियापानमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्दसमेत सहभागी थिए ।

Jwala Sharma

Leave a Reply