![]()
People’s News : काठमाडौं । ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी ऋण निकै भारी परेको छ । बिजनेस पाउन नसकेपछि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई साढे २९ अर्ब ऋण ठूलो भारी बन्न पुगेको हो । कतिसम्म भने ऋण बापतको किस्ता तिर्न पनि अप्ठेरो परेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि छ महिना भइसकेको छ । यी दुवै विमानस्थलले ल्याण्डिङ, पार्किङ, नेभिगेसनलगायत सेवामा शतप्रतिशत छुट दिँदा पनि बिजनेस पाउन सकेका छैनन्। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडानमा चासो नै नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
कुन विमानस्थलको ऋण कति ? : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एसियाली विकास बैंकसँग करिब साढे ७ अर्ब रुपैयाँ ऋण लिइएको थियो । ५ प्रतिशत ब्याजदरमा लिइएको ऋण भुक्तानीको समय ५ वर्षअघि अर्थात् २०७५ वैशाखबाट सुरु भएको थियो । २०६७ चैत २५ गते भएको सम्झौताअनुसार ग्रेस अवधि ८ वर्षसहित ३२ वर्षमा ४८ किस्ता ऋण चुक्ता गर्नुपर्छ । तर प्राधिकरणले ५ वर्षमा ६० करोड रुपैयाँभन्दा तिर्न सकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले २०७३ मा चीनको एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना ‘एक्जिम’ सँग भ्याटसहित २२ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको थियो । यो ऋणको ब्याजदर पनि ५ प्रतिशत हो । ऋण चुक्ताका लागि ग्रेस अवधिसहित २० वर्ष छ । ७ वर्षको ग्रेस अवधि सकिइसकेको छ । हरेक वर्ष चैत र असोजमा किस्ताबापत वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ । तर यो प्राधिकरणले किस्ता तिर्नै सकेको छैन । किस्ताबापत वार्षिक १ अर्ब ६ करोड भन्दा बढी तिर्नुपर्ने विमानस्थलले गत आर्थिक वर्ष जम्मा १८ करोड आठ लाख रुपैयाँ आम्दानी गर्यो ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कति ? : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो । यो अवधिमा विमानस्थलमा ३१६ वटा अन्तर्राष्ट्रिय उडान अवतरण भएका छन् । २८ हजार ७३५ यात्रुले सेवा लिएको प्राधिकरणको तथ्यांक छ । विमानस्थलले सेवा शुल्कबापत २३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको पहिलो दिनदेखि नै नियमित उडान सुरु गरेको कुवेतको जजिरा एयरवेजले चार महिनाअघि नै हात झिकिसकेको छ । हिमालय एयरलाइन्सले गत वर्ष केही समय उडान गरे पनि व्यावसायिक फाइदा नभएपछि नियमित उडानको योजना नै स्थगन गर्यो । विमानस्थल प्रमुख हंशराज पाण्डेले बिजनेस नभएका कारण अप्ठेरो स्थिति आएको बताए । ‘उडान नभएका कारण ऋणको किस्ता तिर्न निकै समस्या परेको छ’, उनले भने । देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भार थेग्न नसकेपछि विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८० भन्दा बढी उडान अवतरण हुँदा गौतमबुद्धमा भने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले मात्र नियमित उडान गर्दै आएको छ, त्यो पनि सातामा एउटा ।
‘अन्तर्राष्ट्रिय उडानका लागि म्यानमार, भुटान लगायत विभिन्न देशका वायुसेवा कम्पनीले चासो देखाउँदै आएका छन् । मौखिकरुपमा कुराकानी भए पनि औपचारिक रुपमा भने थप वायुसेवा कम्पनी आएका छैनन्’, पाण्डेले भने । पोखराको स्थिति त झनै दर्दनाक छ । ऋणको भारी धेरै भए पनि यो विमानस्थलमा अहिलेसम्म नियमित व्यावसायिक उडान नै सुरु भएको छैन । दैनिक २० हाराहारी आन्तरिक उडानबाट हुने कमाइमै विमानस्थलले चित्त बुझाउन परिरहेको छ । विमानस्थलमा सिचुआन एयरले दुईवटा चार्टर उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा संशय छ । अहिलेसम्म कुनै वायु सेवा कम्पनीले पनि उडान गर्ने भरपर्दो वचन दिएका छैनन् ।

प्राधिकरणको निर्देशनले गरेन काम : प्राधिकरणले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दै आएका विभिन्न वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न निर्देशन दियो । तर त्यो निर्देशनले काम गरेन । व्यावसायिकरुपमा फाइदा नदेखेपछि वायु सेवा कम्पनीहरुले प्राधिकरणलाई टेरेनन् । ‘खाली उडान गर भनेर भएन । वायु सेवा कम्पनीले यात्रु पाउने स्थिति पनि हुनुपर्यो नि’, एक व्यवसायीले भने । ……