![]()
पिपुल्स न्युज : काठमाडौं । तरलता अभावसँगै ऋण प्रवाह बन्द गरेका राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ऋण दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेसँगै त्यसको प्रभाव सहकारीमा पनि देखिएको छ । निक्षेप बढेसँगै सहकारी संस्थाहरुसँग कारोबार गर्ने सहकारी बैंक र नेफ्स्कूनले ऋण प्रवाह गर्न थालेका हुन् ।

सहकारी बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार माघको तुलनामा फागुनमा निक्षेप ८८ करोड रुपैयाँले बृद्धि भएको छ । माघ मसान्तमा बैंकसँग कुल ४२ अर्ब ६० करोड रुपैयाँ निक्षेप रहेकोमा फागुन मसान्तमा बढेर ४३ अर्ब ४८ करोड रुपैयाँ पुगेको जनाएको छ ।
माघसम्म ऋण प्रवाह घटाइरहेको बैंकको फागुनमा भने थोरै बृद्धि देखिएको छ । माघ मसान्तमा कुल ३३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको फागुनमा बढेर ३३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । पुसमसान्तमा बैंकको लगानी ३४ अर्ब १६ करोड थियो ।

यसैगरी फागुन महिनामा नेफ्स्कूनको पनि १९ करोड रुपैयाँ निक्षेप वृद्धि भएको छ । पुस मसान्तसम्ममा संघमा १७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तमा १७ अर्व ४५ करोड र माघमा १७ अर्ब ६४ करोड रुपैयाँ पुगेको जनाएको छ ।
यस्तै पुसमा १५ अर्व ४७ करोड लगानी रहेकोमा माघमा घटाएर १५ अर्व ४१ करोड रुपैयाँमा झारेको नेफ्स्कूनले फागुनमा बढाएर १५ अर्ब ५५ करोड रुपैयाँ पु¥याएको छ ।
निक्षेप बृद्धिसँगै सहकारी बैंकको तरलता अनुपातमा सुधार देखिएको छ । माघमा २२.३८ प्रतिशत तरलता अनुपात रहेको बैंकको फागुनमा बढेर २३.८२ प्रतिशत पुगेको छ ।
यस्तै नेफ्स्कूनको भने माघको तुलनामा तरलता अनुपात थोरै घटेको छ । माघमा २५.३६ प्रतिशतबाट तरलता अनुपात रहेकोमा फागुनमा घटेर २३.२९ प्रतिशतमा झरेको संघको मासिक प्रतिवेदनमा उल्लेख छ ।